शुक्रबार, वैशाख २५, २०८३

अनेकतामा एकता हाम्रो मौलिक पहिचान : उपराष्ट्रपति यादव

मेरोन्यूज २०८० पुष १० गते ७:५२

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले अनेकतामा एकता हाम्रो मौलिक परिचय र पहिचान भएको बताए ।

Advertisement
NiccNicc

किराँत समुदायले मनाउने महान् पर्व उधौली र विविध प्राचीन संस्कृति एवं परम्परागत विरासत बोकेका नेवार समुदायले मनाउने यमरीपुन्हीँ (धान्यपूर्णिमा) एवं ज्यापु दिवसको उपलक्ष्यमा आज शुभकामना दिँदै उनले त्यस्तो बताए।

उपराष्ट्रपति यादवले नेपालमा मनाइने सम्पूर्ण चाडपर्वहरुले मुलुकको एकता, अखण्डता एवं सार्वभौमिकता तथा सामाजिक एवं धार्मिक सद्भाव, सहिष्णुता, भाइचारा, बन्धुत्वभाव, मैत्रीभाव आदिलाई अक्षुण्ण राख्न सहयोग गरेको बताए ।

उपराष्ट्रपति यादवले आफ्नो सन्देशमा भनेका छन्, “आ–आफ्नै मौलिक परम्परा, रीतिरिवाज अनुसार दुई फरक समुदाय किराँत र नेवार समुदायले एकै दिन मनाउनुले विविधतामा एकताको सन्देश सम्प्रेषण गर्दै सिङ्गो नेपाली समाज र मुलुकलाई एकतामा बाँध्ने विश्वास लिएको छु ।”

नेपालमा आजकै दिनदेखि ज्यापु संस्कृतिको रक्षार्थ केही वर्षयता ‘ज्यापु दिवस’ मनाउँदै आएको छ । यो अवसरमा नेवाः संस्कृति, बाजागाजा, वेशभूषा आदिलाई जगेर्ना गर्न विभिन्न सांस्कृतिक झाँकी निकाल्ने गरिन्छ । मौलिक बाजा धिमेको तालमा यो अवसरमा निकालिने अद्भुत झाँकीले नेपालभित्र प्रचलनमा रहेको रैथाने रीतिरिवाज र परम्परालाई जीवन्त राख्न सहयोग गर्दछ ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि थप अग्रसर र क्रियाशील हुन उधौली पर्व, यमरीपुन्हीँ स् (धान्यपूर्णिमा) र ज्यापु दिवसले उत्प्रेरित गर्न सक्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गरेका छन् ।

प्रतिक्रिया