मंगलबार, माघ २०, २०८२

रुसी सेनामा आवद्ध १०० जना नेपाली हराइरहेको र घाइते भएको उजुरी छ : परराष्ट्रमन्त्री साउद

मेरोन्यूज २०८० पुष १० गते १६:०७

काठमाडाैं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसी सेनामा सयजना नेपाली घाइते र हराइरहेका उजुरी आएको बताएका छन्।

रासससँगको कुराकानीमा उनले केही नेपालीहरु भर्ना भएको र भर्ना भएकामध्ये हालसम्म सात जना मारिएको जानकारी रुस सरकारले नै गराएको बताएका छन्।

‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ,’ मन्त्री साउदले भनेका छन्, ‘यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।’

बेपत्ता भएकाको खोजीका लागि नेपालस्थित रूसी राजदूतलाई मन्त्रालयमा बोलाएको उनले बताए। राजदूतलाई आफूहरूले यसबारे चासो राखेकोबारे सरकारसम्म पुर्‍याउन स्पष्ट सन्देश दिएको पनि मन्त्री साउदले बताए। काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका करिब दुई सय जना नेपाली युवा सेनामा भर्ना भएको आशंका गरिएको बताए।

परराष्ट्रमन्त्री साउदले इजरायलमा हमासको आक्रमणमा परी हालसम्म अज्ञात अवस्थामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिरहेको दाबी पनि गरेका छन्।

इजरायलमा हमासद्वारा असोज १० गते भएको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ।

‘विपिन जोशीको उद्धार र रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई म आफैँले भेटेर पहल गरिदिन आग्रह गरेको छु’ मन्त्री साउदले भने, ‘अहिलेसम्मको विवरणअनुसार विपिन जोशीको जीवन सुरक्षित नै छ। आउँदो युद्धविराममा हामी विपिन जोशीलाई छुटाउन सफल हुनेछौँ भन्ने मेरो दृढ विश्वास छ।’

प्रतिक्रिया