शुक्रबार, वैशाख २५, २०८३

परराष्ट्रमन्त्री साउदद्वारा निर्माणाधीन फोहरमैला व्यवस्थापन केन्द्रको निरीक्षण

मेरोन्यूज २०८० पुष १५ गते २२:०८

कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आज शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गामा निर्माण भइरहेको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको निरीक्षण गरेका छन् ।

Advertisement
NiccNicc

मन्त्री साउदले फोहरमैला व्यवस्थापन केन्द्रको भौतिक प्रगतिबारे आज जानकारी लिनुभएको हो । निर्धारित समयभित्रै फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न निर्माण व्यवसायीलाई उनले निर्देशनसमेत दिए ।

निरीक्षणका क्रममा मन्त्री साउदले केन्द्रको उत्तरतर्फको क्षेत्रमा तटबन्ध निर्माणका लागि भएको ठेक्का पुनरावलोकन गरिने बताए । “केन्द्रमा जैविक र अजैविक फोहर छुट्याई बायोग्यास र जैविक मलका ठूला प्लान्टमा प्रशोधन हुन्छन्, यसका लागि धेरै जनाले रोजगारी पाउँछन्,” उनले भने, “फोहरमैला केन्द्र वरिपरिका बासिन्दाको हितलाई पनि ध्यान दिनुपर्छ, त्यस क्षेत्रका जनताका लागि विकास गरिनुपर्छ ।”

अहिले यो फोहरमैला केन्द्र शुक्लाफाँटा नगरपालिकाले मात्रै प्रयोग गर्ने भए पनि यसलाई भीमदत्त, बेदकोट र कृष्णपुरको साझा फोहर व्यवस्थापन गर्ने केन्द्रका रुपमा विकास हुने मन्त्री साउदले बताए। फोहरमैला व्यवस्थापन केन्द्र नजिकै रहेको वनहरा नदीको दाहसंस्कार गर्ने क्षेत्रमा व्यवस्थित आर्यघाट निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गरिने आश्वासन उनले दिए ।

जग्गाको अभावमा ती नगरपालिकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न नसकेको उल्लेख गर्नुहँुदै मन्त्री साउदले यसै केन्द्रलाई भविष्यमा प्रयोग गर्न सक्ने बताए । एसियाली विकास बैङ्कको रु ३० करोडको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ ।

प्रतिक्रिया