पूर्वशिक्षकको पशुपालन

गण्डकी । कास्की जिल्ला, रुपा गाउँपालिका–६ भोर्लेका ७० वर्षीय तिलबहादुर खड्का गाउँ फर्केर व्यावसायिक पशुपालनमा रमाउन थालेका छन् ।
एक दशकको पोखराको बसाइ त्यागी गाउँ फर्किएका खड्काले भिरचोकस्थित चन्द्रप्रभा माविमा १२ वर्ष प्रधानाध्यापक र १० वर्ष देउराली स्रोत केन्द्रको स्रोतव्यक्तिसहित चार दशक शिक्षण पेसामा रहेर सेवा गरेका थिए । खड्काले दर्ता गरेको देउराली फार्ममा उन्नतजातका १७ वटा भैँसी र १५ वटा गाई छन् । फार्ममा दैनिक एक सय लिटर दूध उत्पादन हुन्छ । बजारमा बिक्री गरेर मासिक रु पाँच लाख आम्दानी हुने गरेको छ । भैँसीको दूध प्रतिलिटर रु एक सय ४० र गाईको दूध रु एक सय २० का दरले बिक्री हुन्छ ।
बिहान सबेरै स्कुटरमा दूध बोकेर बजार लैजाने र फर्कंदा गाईभैँसीलाई आवश्यक दाना चोकर बोकेर ल्याउने दैनिकी बनाउँदै आएका उनका कान्छा छोरा भूपेन्दबहादुर खड्का विदेश जानुभन्दा गाउँको जग्गालाई सदुपयोग गर्दै परिवारसँगै बसेर पशुपालनबाट मनग्ये आम्दानी गर्नु राम्रो भएको बताए । “गोठमा रहेका माहु, भैँसी र गाई अधिकांश ब्याउनेछन् फागुन महिनादेखि दैनिक दुई सय लिटर दूध उत्पादन हुन्छ”, उनले भने, “गाईभैँसी थपेर दैनिक पाँच सय लिटर दूध उत्पादन गरी बजारमा बिक्री गरेर मासिक रु १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य छ ।”
गाउँबाट दूध बोकेर पोखरा जानु र तीन बोरासम्म चोकरदाना बोकेर फर्कंदा ६० देखि ७० किलोमिटर स्कुटरको यात्रा कष्टकर बनेको दुखेसो सुनाउँदै बिबिएस उत्तीर्ण गरेका ३३ वर्षीय खड्काले भ्यान भए उत्पादित दूध बिक्री र पशु आहारा ओसारपसारमा सुविधा पुग्ने बताए ।
स्थानीय रुपाकोट रिसोर्टले दैनिक २० लिटर दूध र फार्ममा उत्पादित मल खरिद गर्ने गरेको छ । बाँकी दूधको बजार पोखरा नै हो । फार्मबाट जम्मा भएको गोबर मल बिक्रीबाट हालसम्म रु चार लाख आम्दानी भएको छ । नस्ल सुधारका लागि रु ९० हजारमा राँगो खरिद गर्दा गाउँपालिकाबाट रु ३० हजार अनुदान प्राप्त भएको उनले बताए ।
दूध बिक्रीभन्दा पनि फार्ममा जन्मेका पाडापाडी हुर्काउने अभियान छ । गोठमा यतिखेर २० वटा पाडी, दुईवटा पाडा र चारवटा बाच्छाबाच्छी छन् । स्थानीय खडागाउँको पानीको स्रोत सुकेपछि खरिबोटको पानी मोटरको सहायताले ल्याउँदा थप रु ६५ हजार लगानी भएको छ ।
पाडापाडी हुर्काएबापत गण्डकी प्रदेश सरकारबाट रु ९० हजार अनुदानसमेत प्राप्त गरेको र यस वर्ष रु ५० हजार अनुदान पाउने विश्वास व्यवसायी खड्काको छ । प्रदेश सरकारले पाडापाडी हुर्काउने पशुपालकलाई प्रतिपाडी रु १० हजार अनुदानको व्यवस्था गरेको छ ।
घाँसमा आधारित पशुपालन गर्ने लक्ष्यका साथ २७ रोपनी जग्गामा सुपरनेपिएर जातका बिरुवा, डाले र भुइँघाँस लगाएका कारण पनि पशुपालनमा सुविधा पुगेको छ । एभरेष्ट बैङ्कबाट रु ७० लाख कृषि ऋण लिएर फार्म सञ्चालन गरेको बताउँदै खड्का भन्छन् , “गाउँको पायक पर्ने स्थानमा १८ रोपनी जग्गा खरिद गरी सुरु गरेको फार्ममा हालसम्म रु एक करोड ५० लाख लगानी भइसकेको छ ।” फार्ममा पाँच जनाले रोजगारी पाएका छन् ।
उर्वर र रमणीय भोर्ले गाउँका ८० घरमध्ये अहिले चार घरमा मात्र मानिस बस्छन् । बाँकी घर रित्तिएका छन् । जग्गा बाँझो भई जङ्गलमा परिणत भएको छ । साढे दुई वर्षको अवधिमा चरनमा छवटा बाच्छीलाई चितुवाले मारेको छ । पशु बीमाको क्षतिपूर्ति पाउँदा केही हदसम्म राहत मिलेको छ ।
सहरबाट गाउँ फर्केर पशुपालन व्यवसाय सञ्चालन गर्नु सबैका लागि प्रेरणाका स्रोत भएको गाउँपालिकाका अध्यक्ष नवराज ओझा बताउछन्। पालिकाले पशुपालन किसानको प्रोत्साहनका लागि ढुवानी, घाँसका बिरुवा, भकारो सुधार, नस्लसुधार लगायतमा अनुदानको व्यवस्था गर्दै आएको उनले जानकारी दिए ।
सडक पूर्वाधार निर्माणसँगै पालिकालाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गरी स्थानीय बासिन्दाको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ पशुपालन, कृषि, मौसमी तथा बेमौसमी तरकारीखेती, मौरीपालनलगायत क्षेत्रमा सहयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
















132-kV transmission line in Karnali expected to give boost to industries
आन्दोलन होइन ब्ल्याकमेल भयो : ब्रिटिश कलेज
15 killed, 7 injured as Russian drone hits miners’ bus in Pavlohrad, emergency service says : Ukraine
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान
Kathmandu : The price of gold has declined by Rs 13,400 per tola (11.66 grams) in the domestic market today.
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया