सरकारी विद्यालयमा छोराछोरी पढाउने अभिभावकको स्वास्थ्य बीमा निःशुल्क

दमौली (तनहुँ) । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।
गाउँपालिकाले पहिलो चरणमा विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा गर्न लागेको हो ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो नीति ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । चुमानका अनुसार पहिलो चरणमा वडा नम्बर ४, ५ र ६ मा यो कार्यक्रम लागू हुनेछ । उनले भने, “सामुदायिक विद्यालयमा छोराछोरी पढाएका अभिभावक तथा विद्यार्थीका लागि स्वास्थ्य बीमा लागू हुनेछ । यसले सामुदायिक विद्यालयप्रति आकर्षण बढाउने अपेक्षा गरेका छौँ ।”
स्वास्थ्य बीमाका लागि पालिकाले नीति, कानुन निर्माण गरिसकेको छ । यसका लागि सम्बन्धित विद्यालयको सिफारिससहित वडाबाट विद्यार्थीको विवरण सङ्कलन, बीमा फारम, नवीकरणलाई अगाडि बढाइएको चुमानले बताए । माघभित्र ती वडाका सबै विद्यार्थी र अभिभावकको स्वास्थ्य बीमा गरिसक्ने चुमानको भनाइ छ ।
उनले भने, “आवश्यकता बमोजिम आगामी वर्षमा प्राथमिकतामा आधारमा अन्य वडामा पनि यो कार्यक्रम विस्तार गर्ने लक्ष्य छ ।” गाउँपालिकाले यसै शैक्षिक शत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय कार्यान्वयन गरेको थियो । सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानअन्तर्गत जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय कार्यान्वयनमा आइसकेको छ ।
गाउँपालिकाले विसं २०८० लाई सामुदायिक विद्यालयको शिक्षा रुपान्तरणको अभियानको रुपमा अगाडि बढाएको छ । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार योजनाको सुरुवात गरेको छ । गाउँपालिकाले रुप फेर्ने, सिकाइ गुणस्तर, अनुगमन र प्रोत्साहन गरी चार विषयलाई प्राथमिकता दिएको अध्यक्ष चुमानले जानकारी दिए । चुमानले भने, “हामी निर्वाचित भएर आएदेखि नै शिक्षाको गुणस्तर वृद्धिका लागि के गर्न सक्छौँ भनेर कार्ययोजना बनाएर लागेका छौँ । शिक्षाको गुणस्तर सुधारका लागि यसलाई मुख्य प्राथमिकता दिएका छौँ ।”
आँबुखैरेनी गाउँपालिकाका–६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । “सामुदायिक विद्यालयको स्तर सुधार्नुपर्छ भनेर भाषणमा भन्दा पनि व्यवहारमा लागू गरेका छौँ”, चुमानले भने । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीति ल्याएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया