सोमबार, वैशाख २१, २०८३

सरकारले शिक्षासँगै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने मुख्यमन्त्री जम्कट्टेलको भनाइ

मेरोन्यूज २०८० पुष २७ गते २०:१३

काभ्रेपलाञ्चोक । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिक्षासँगै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताएका छन् । उनले आज काभ्रेपलाञ्चोकको बनेपामा जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा समितिको नवनिर्मित भवन उद्घाटन समारोहमा शिक्षासँगै खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

Advertisement
NiccNicc

“खेलकुद र खेलाडी राष्ट्रका गौरव हुन्, यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले तयार गर्न लागेको शिक्षा नीतिमा त्यससम्बन्धी नीति पनि समावेश गरिनेछ”, मुख्यमन्त्री जम्कट्टेलले भने । उनले यसअघि खेलकुद मन्त्रालयलाई कम बजेट विनियोजन गरिएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा त्यसमा पुनरावलोकन गरिने बताए । उनले भने, “अब खेलुकदको विकासका लागि उक्त मन्त्रालयलाई विशेष महत्व दिनेछौँ ।”

खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले अन्य मन्त्रालयको बजेट घटाएर भए पनि गरी खेलकुद क्षेत्रमा बजेट बढाउन सुझाए । श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले जिल्लास्तरमा रङ्गशाला र वडास्तरमा खेलमैदान निर्माण गर्नुपर्नेमा जोड दिए।

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, बागमती प्रदेशसभा सदस्य रत्न ढकाल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्य भण्डारीलगायत वक्ताले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया