सोमबार, चैत २३, २०८२

यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी बने आयुस

मेरोन्यूज २०८० माघ ९ गते १०:५९

कास्की । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिँदै छ ।

Advertisement
nepal life insurencenepal life insurence

सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सञ्चालन हुने ‘आहा रारा पोखरा गोल्डकप’को २३औँ संस्करणको उद्घाटन समारोहमा सो सम्मान गर्न लागिएको हो ।

प्रतिभा छनोटका लागि गठित सिफारिस समितिको सिफारिसबमोजिम क्लबको कार्यसमिति बैठकले आयुसलाई सम्मान गर्ने निर्णय गरेको हो । सम्मानको राशि नगद रु ५० हजार पाँच र सम्मानपत्र छ । राष्ट्रिय टिमका नियमित सदस्य घलाल हेटौँडा उपमहानगरपालिका–१८ निवासी हुनुहुन्छ । सानो उमरेमा राष्ट्रिय टोलीमा स्थान बनाएका घलानले विश्वकप छनोटअन्तर्गत अष्टे«लियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरे ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले बर्सेनि सम्मान गर्दै आएको सहाराका अध्यक्ष केशवराज बरालले बताए । विसं २०७४ देखि सञ्चालित यस सम्मान हालसम्म भरत खवास, किरणकुमार लिम्बू, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र अनन्त तामाङ सम्मानित भइसक्नुभएको छ ।

आगामी माघ २० गतेसम्म हुने यस वर्षको आहा रारा पोखरा गोल्डकपमा आयोजकसहित १२ टिमले भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा र थ्रिस्टार क्लबका बीचमा हुनेछ । विजेताले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

सहभागी प्रत्येक टोलीलाई एक खेल खेलेबापत अतिरिक्त प्रोत्साहन रकम प्रदान गरिने बताइन्छ । प्रिक्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु २० हजार दरले र क्वाटरफाइनलमा विजेता र पराजित दुवै टोलीलाई रु ३० हजार तथा सेमिफाइनलमा पुग्ने टोलीलाई रु ५० हजारका दरले प्रोत्साहन रकम प्रदान गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

यसैगरी ‘म्यान अफ दी म्याच’लाई नगद रु १० हजारसहित मेडल पुरस्कार पाउनेछन् । यस वर्षदेखि क्लबले प्रत्येक खेलमा दुई जनालाई भाग्यशाली दर्शक पुरस्कार रु पाँच हजारका दरले प्रदान गर्ने भएको छ । दर्शकको उपस्थिति वृद्धि गर्न र प्रोत्साहनका लागि सो पुरस्कार राखिएको बताइन्छ ।

प्रतियोगितामा नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सङ्कटा क्लब, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, राइजिङ स्टार फुटबल क्लब, थ्रीस्टार क्लब, पारो फुटबल क्लब भुटान, नेपाल एपिएफ क्लब र आयोजक सहारा क्लबको टोली सहभागिता जनाउने छन् । अघिल्लो संस्करणमा सङ्कटा क्लबले उपाधि जितेको थियो भने भुटनिज युथ स्पोर्टस् क्लब मिनोसोटा अमेरिका उपविजेता बनेको थियो ।

प्रतिक्रिया