शनिबार, माघ १७, २०८२

स्थानीय तहको प्रभावकारी कार्य सम्पादनले संघीयता बलियो बनाउँछ : मन्त्री शर्मा

मेरोन्यूज २०८० माघ ११ गते १९:२८

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले संघीयतालाई बलियो बनाउन स्थानीय सरकारको कार्यसम्पादन प्रभावकारी बनाउँदै लैजाने बताएकी छन् ।

स्थानीय सरकारले गर्ने कार्य सम्पादनले स्थानीय तहको मात्र नभई तिनै तहका सरकारको कार्य सम्पादन प्रस्तुत गर्ने र संघीयतालाई बलियो बनाउने पनि उनले स्पष्ट गरिन् ।

सेन्टर फर इनोभेटिभ गभर्नेन्स प्राक्टिसेज (सिआईजीपी)ले आयोजना गरेको स्थानीय सरकारका प्रवक्ताहरुको तीन दिने प्रशिक्षण कार्यक्रम समापन गर्दै मन्त्री शर्माले तिनै तहका सरकारले गर्ने कामको पहिलो जस र अपजस पनि स्थानीय सरकारलाई नै जाने भएकाले सेवा प्रवाह र कार्य सम्पादनमा बढी ध्यान दिनुपर्ने बताइन् ।

संविधान जारी भएलगत्तै स्थानीय तहहरु क्रियाशील भएको र अधिकांश कानुनको अभावमा काम गर्नुपरेकाले सुरुका वर्षहरुमा बेथितिहरु देखिए पनि क्रमशः कानुनहरु बन्दै जाँदा स्थानीय सरकारहरुको कार्य सम्पादनमा परिपक्वता बढ्दै गए उनले बताइन्। ‘कतिपयले संघीयता महङ्गो भयो, स्थानीय तहलाई धेरै अधिकार दिइयो भनेर टिप्पणी पनि गर्ने गरेका छन्’– मन्त्री शर्माले भनिन्– ‘धेरै टाढा नजाऔं, भर्खरै पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धारको अवस्था हेरौं, स्थानीय सरकार नभइदिएको भए आधा घण्टामै उद्धार सुरु हुन सक्दैन्थ्यो ।’

यो एउटै घटनाबाट पनि संघीयता कति आवश्यक रहेछ भन्ने पुष्टि भएको र जनताका दैनिकदिनका समस्याको समाधान स्थानीय सरकारहरुले गर्दै आएको उनले बताइन् । उनले नेपालमा संघीयता महंगो नभएको स्पष्ट गर्दै बरु बेथिति र बदमासी भने ठूलो समस्याको रुपमा रहेको बताइन् ।

संघीयतालाई थप बलियो र प्रभावकारी बनाउने गरी विभिन्न कानुन निर्माण गर्न बाँकी रहेको औल्याउँदै मन्त्री शर्माले संघीय संसदको आउँदो हिउँदे अधिवेशनबाट धेरै कानुन अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन् ।

मिडियासँग भागेर होइन, फेस गरेर अघि बढ्न आग्रह
मन्त्री शर्माले मिडियासँग भागेर होइन, फेस गरेर अघि बढ्न स्थानीय तहका प्रवक्ताहरुलाई आग्रह गरिन्। ‘राजनीतिक गर्नेहरु निरन्तर प्रश्नको सामना गर्न तयार हुनुपर्छ’– प्रवक्ता शर्माले भनिन्– ‘त्यसमा अझ प्रवक्ता भनेको संविधान, कानुन, प्रक्रिया र निर्णयको आधारमा तथ्यमा टेकेर सत्य स्थापित गर्ने जिम्मेवारी हो, मिडियाका हर प्रश्नको जवाफ दिने तयारीसहित फेस गर्नुपर्छ, मिडियासँग भागेर समस्या समाधान हुँदैन ।’

सरकार का कामको प्रचार र संरक्षणले कामको प्रभावकारिता स्थापित गर्ने र कमजोरी सच्याउने अवसर प्राप्त हुने उल्लेख गर्दै उहाँले प्रवक्ताहरु एकोहोरो प्रचारकर्ता मात्र नभई सरकारको काम जनतामाझ लैजाने र जनताको आवाज सरकारसम्म पुर्याउने दोहोरो सन्देशवाहको भूमिकामा रहनुपर्ने बताइन् । नेपालमा कर्मचारी वा अन्य जिम्मेवारीमा रहेका व्यक्तिहरुका लागि तालिम दिने गरिए पनि राजनीतिकर्मीलाई तालिम प्रशिक्षण कम दिने गरिएको टिप्पणी गर्दै उहाँले पदीय भूमिकामा जाने राजनीतिक व्यक्तिका लागि विज्ञहरुबाट नियमित तालिम प्रशिक्षण सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औल्याइन् ।
तालिम समापनको अध्यक्षता संस्थाका अध्यक्ष कृष्णहरि बास्कोटाले गरेका थिए । तीन दिनसम्म चलेको तालिमा ३२ पालिकाका प्रवक्ताको सहभागिता थियो ।

प्रतिक्रिया