भोजपुरको दुर्गम भेग हतुवागढीको बारीगाउँमा बिजुली

टक्सार (भोजपुर) । बिजुली बाल्ने चाहना पूरा भएकामा भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका–८ बारीगाउँका रामबहादुर राईको परिवार हर्षले गद्गद् भएको छ । नेपाल विद्युत् प्राधिकरणले गाउँमा विद्युतीकरण गरेसँगै राई परिवारमात्र नभई छिमेकी पनि दङ्ग छन् ।
रामबहादुर भन्छन्, “गाउँमा बिजुली पुगेपछि म मात्रै होइन, गाउँका बूढाबूढी, तन्नेरीदेखि बालबालिका सबै खुसी छौँ ।” अहिलेसम्म चाहेर पनि हाम्रो गाउँमा विद्युत्को पहुँच पुगेको थिएन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भोजपुरअन्तर्गतको हतुवागढी घोडेटार फ्युज सेवाले वडा नं ८ को पात्लेपानी, विद्यापोखरी, रोक्ताङ हुँदै बारीगाउँसम्म ११ केभी प्रसारण लाइनबाट विद्युत् सेवा पुर्याएको हो ।
विद्युत्को पहुँच पुगेसँगै त्यहाँका ६९ घर अहिले झिलिमिली भएको छ । मट्टितेलको टुकी बालेर जीवन बिताउन बाध्य गाउँलेको गाउँमा बिजुली आउँला भन्ने सपना अहिले आएर पूरा भएको वडाध्यक्ष प्रेम थापाले बताए । उनले भने, “दुर्गम गाउँपालिकाका धेरै वडाका जनता अँध्यारोमा बस्न बाध्य हुनुहुन्छ, तर अहिले गाउँमा पनि बिजुली पुग्न थालेकामा यहाँका जनतामा खुसी छाएको छ ।” जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् प्राधिकरण र ठेकेदारमार्फत विद्युतीकरणको क्रम चलिरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताए । उनले भने, “जिल्लाभित्रका नौवटै स्थानीय तहमा विद्युत्को पहुँच पु¥याउन प्राधिकरणले काम गरिरहेको छ ।”
स्थानीय उत्पादनमा रहेको सिक्तेल खोला जलविद्युत् आयोजनाबाट भोजपुर सदरमुकाम र आसपासका करिब एक हजार चार सय घर परिवारमा मात्र विद्युत् सेवा पुगेकामा विसं २०६७ कात्तिक महिनाबाट विद्युत् प्राधिकरणको शाखा भोजपुरमा स्थापना भएसँगै विद्युतीकरणको काम सुरु भएको थियो । भोजपुरमा हाल निजीस्तरका दुई वटा हाइड्रोपावर सञ्चालनमा रहेका छन् ।
भोजपुरमा हाल ८५ प्रतिशत विद्युतीकरण भइसकेको छ भने जिल्लाको उत्तरमा रहेको साल्पासिलिछो र दक्षिणमा रहेको आमचोक गाउँपालिका क्षेत्रमा विद्युतीकरणको काम बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार अहिलेसम्म २४ हजार बढी घरधुरीमा विद्युत्को पहुँच पुगिसकेको छ ।
















कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया