बुधबार, वैशाख १६, २०८३

देश निर्माणमा समर्पित हुन युवालाई अध्यक्ष ओलीको आग्रह

मेरोन्यूज २०८० माघ २० गते १८:००

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा विद्यार्थीलाई देशप्रति समर्पित हुन आह्वान गरेका छन् ।

Advertisement
NiccNicc

एमाले काठमाडौँ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित ‘युवा महोत्सव’मा उहाँले देश निर्माणका लागि युवाको सहभागिताको आवश्यकता औँल्याउदै देशलाई प्रेम गर्न समेत आग्रह गरे । “आफनो देशलाई माया गरौँ । म भाईबहिनीहरुलाई भन्न चाहन्छु कुनै पनि देश अर्काले आएर बनाइदिन्न, आफैले बनाउनुपर्छ”, अध्यक्ष ओलीले भने ।

उनले देशमा विद्यमान समस्या समाधानका लागि युवाको भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गरे । “हाम्रा अघि समस्या छन्, युवा जनशक्ति विदेश पलायन भइरहेका छन् । यो समस्यासँग भाग्ने होइन जुधेर समाधान गर्ने हो”, उनले भने, “देशमा निरकुंश राजतन्त्र र पञ्चायती तानाशाह थियो त्यसविरुद्ध हामी भागेको भए अहिले लोकतान्त्रिक गणतन्त्र यहाँ आउदैन थियो ।”

देशको उत्पादन र उत्पादकत्व बढाएर सुदृढ हुनुपर्नेमा जोड दिँदै विप्रेषणमा भरपर्नु अर्थतन्त्रका लागि राम्रो नभएको अध्यक्ष ओलीको भनाइ थियो । उनले युवालाई सहज ढङ्गले रोजगारी उपलब्ध गराउनेदेखि उद्यमशिलतातिर प्रेरित गर्न आवश्यक रहेको धारणा राखे । उहाँले देशमा ज्येष्ठ नागरिकको सङ्ख्या बढदो र प्रजनन दर घटदै गएकोप्रति चिन्ता समेत प्रकट गरे।

महोत्सवमा एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले राजनीतिमा युवाको सक्रिय सहभागितालाई जोड दिए। ‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउने लक्ष्यका साथ सुरु महोत्सवले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवा शक्तिलाई समाज रूपान्तरणका दिशामा अभिप्रेरित गराउन सहयोग उनको भनाइ छ ।

प्रतिक्रिया