मंगलबार, वैशाख १५, २०८३

प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत, सांसदको हाजिरी वेबसाइटबाट

मेरोन्यूज २०८० माघ २२ गते १७:१३

काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालन गर्न फागुन १४ गतेसम्मका लागि ‘क्यालेन्डर’ स्वीकृत भएको छ। सोमबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्य तालिका स्वीकृत गरेको हो। 

Advertisement
NiccNicc

प्रतिनिधिसभाको क्यालेन्डर अनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्ने छ। त्यसपछि फागुनमा ४ वटा बैठक बस्नेछन्।

फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ। समितिको बैठकले सो दिन छलफल हुने विषयको तालिका समेत सार्वजनिक गरेको छ।

यस्तै बैठकले अबदेखि सांसदहरुको विद्युतीय हाजिरी गर्ने र वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।

सभामुख देवराज घिमिरेले संसदको यसै अधिवेशनबाट कार्यतालिका लागू हुने बताए । उनले सांसदहरुको विद्युतीय हाजिरी गरिने र वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने पनि बताए ।

उनले कार्यतालिका लागु हुने भएपछि सांसदहरुलाई सहज हुने बताए । गएको एक वर्षमा एउटा मात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरु उठेका छन् । आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणाममुखी बनाउन अपिल गर्दछु, उनले सांसदहरुलाई भने ।

सभामुख घिमिरेले सांसदहरुको उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी बन्ने पनि बताए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर संसदीय कार्यतालिका लागू गर्ने अवस्थामा पुगेको बताए । बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्नेछ, उनले भने ।

प्रतिक्रिया