शुक्रबार, फागुन ८, २०८२

इलाम चुलाचुलीका किसान तरुल खेतीतर्फ आकर्षित

मेरोन्यूज २०८० माघ २९ गते ९:१८

इलाम । पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल खेतीतर्फ आकर्षित भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

धान, मकै तथा कोदोलगायत अन्नबाली उब्जनी हुने खेतीयोग्य जमिनमा किसानले तरुल खेती गरेर मनग्य आम्दानी समेत लिन थालेका हुन् ।

अन्य बालीभन्दा सिमल खेती गर्न सजिलो र आम्दानीसमेत बढी हुने भएकाले त्यसतर्फ किसानको आकर्षण बढेको चुलाचुली गाउँपालिका–५ का किसान मतिराज राईले जानकारी दिए । “सिमल खेती गर्न अन्य खेतीभन्दा सजिलो र बढी मेहनत गर्नुनपर्ने भएकाले यसको खेतीतर्फ किसानको आकर्षण बढेको हो”, उनले भने ।

थोरै लगानीबाट नै राम्रो आम्दानी लिन सकिने भएकाले यहाँको किसानको रोजाइमा सिमल खेती परेको हो । यहाँका किसानले एकल तथा सामूहिकरुपमा व्यावसायिक सिमल खेती गर्दै आएका छन् । घरमा खाजाका लागि रोपण हुँदै आएको सिमल तरुलको माग पछिल्ला दिनमा बजारमा बढेसँगै व्यावसायिक खेती विस्तार हुन थालेको चुलाचुली–४ का किसान धनबहादुर योगीले बताए । “पहिले पहिले सिमल घरमा खाजा खानका लागि मात्र रोप्ने गरिन्थ्यो, तर पछिल्लो समय बजारमा माग बढेपछि अन्य खेती मासेर व्यावसायिक रुपमा नै यसको खेती गर्न थालेका छौँ”, उनले भने ।

उन्नाइस बिघा १३ दशमलव ६ कट्ठा क्षेत्रमा व्यावसायिक सिमल खेती हुँदै आएको चुलाचुली गाउँपालकाको तथ्याङ्क छ । यहाँका धेरै किसानले करेसाबारीमा सिमल खेती लगाएका छन् । यहाँ उत्पादिन सिमल तरुल निर्यातका लागि बजारको कुनै समस्या छैन । सिमल तरुल किन्न स्थानीय व्यापारी किसानको बारीमा नै पुग्ने गरेका छन् ।

व्यावसायिक उत्पादन बढेसँगै सिमल तरुल खरिद गर्न चुलाचुली आउने स्थानीय व्यापारीको सङ्ख्यासमेत बढ्दै गएको योगीले बताए । तरुल बजार निर्यातका लागि स्थानीय व्यापारीबाट सङ्कलन हुने गरेको छ । सङ्कलन भएको तरुल व्यापारीमार्फत दैनिकरुपमा झापाको दमक, विर्तामोड, मोरङको उर्लाबारी, सुनसरीको इटहरी र धरानसम्मका बजार पुग्ने गरेको छ ।

सिमल तरुलको खरिदबिक्री पुस, माघ र फागुनमा बढी हुन्छ । बजारमा यसको माग बढ्दै गएपछि किसानको मुख्य आम्दानीको स्रोतसमेत बन्न थालेको छ । सुगर, प्रेसरलगायत दीर्घरोगीले समेत खान मिल्ने सिमल तरुल किसानको बारीबाट प्रतिकिलो रु ३० देखि ४० मा बिक्री हुँदै आएको छ ।

तरुल प्रायः बोक्रा तासेर उसिनेपछि खाने गरिन्छ । यसलाई सुकाएर पीठो बनाई रोटी खाने पनि चलन छ । आदिवासी जानजाति समुदायले भने स्थानीय रक्सी उत्पादन गरी बिक्रीसमेत गर्दै आएका छन् ।

तरुल खेती प्रवद्र्धन गर्न चुलाचुली गाउँपालिकाले किसानलाई अनुदान दिँदै आएको छ । चुलाचुलीले गत आर्थिक वर्ष तरुलको व्यावसायिक खेती गर्ने ३८ जना किसानलाई रु १२ लाख २४ हजार दुई सय ९३ अनुदान दिएको थियो ।

चुरेको फेदीमा रहेको चुलाचुली गाउँपालिकामा तरुल खेतीका लागि उपयुक्त रहेको कृषि विज्ञ टोलीको निष्कर्षपछि चुलाचुली गाउँपालिकाले यस खेतीलाई प्रवद्र्धन गर्न थालेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुले बताए । “उपभोक्ता र बजार बढेसँगै पछिल्लो समय सिमल तरुल खेती गर्ने किसानको सङ्ख्या बढ्दो छ”, उनले भने, “फलफूल उत्पादनको प्रथम सूचीमा राखेर सिमल तरुल खेती विस्तार गर्ने योजनामा छौँ ।”

यस वर्ष चुलाचुली गाउँपालिकाले तरुल खेतीलाई व्यावसायिक बनाउन पीठो उत्पादन गर्ने उद्योग स्थापना गर्ने तयारीमा रहेको अध्यक्ष केरुङले जानकारी दिए । चुलाचुली–२ मा रु ६० लाखको लागतमा पीठो उत्पादन गर्ने उद्योग स्थापना गर्न लागेको उनले बताए । इलामको १० स्थानीय तहमध्ये चुलाचुली र माङसेबुङ गाउँपालिका एवं माई नगरपालिकाको तल्लो क्षेत्रमा व्यावसायिक तरुल खेती हुँदै आएको छ ।

प्रतिक्रिया