बिहीबार, माघ १५, २०८२

कञ्चनपुरमा स्यालले घरपालुवा जनावरलाई टोक्न थालेपछि स्थानीय त्रसित

मेरोन्यूज २०८० फागुन १ गते २२:०३

कञ्चनपुर । बहुलाएको स्यालले घरपालुवा जनावरलाई टोक्न थालेपछि शुक्लाफाँटा नगरपालिका–७ का बासिन्दा त्रसित भएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने कालापानी, जुडालगायत क्षेत्रका नौ कुकुर र चार बाख्रालाई दुई दिनको अवधिमै बहुलाएको स्यालले टोकेको हो । स्यालले बाख्रा र कुकुरलाई टोक्न थालेपछि रेविजको सङ्क्रमण फैलिने खतरा बढेको वडाध्यक्ष प्रतापसिंह धामीले बताए ।

“आज दिउँसो बहुलाएको स्याललाई जिउँदै समातेर निकुञ्जसमक्ष बुझाएका छौँ”, उनले भने, “स्यालले टोकेका जनावरबारे वडा क्षेत्रमा जानकारी लिने कार्य भइरहेको छ ।” यसबारे नगरपालिकाको पशुपन्छी विकास शाखामा जानकारी दिइएको उनले बताए ।

नगरपालिकाको पशुपन्छी शाखाका प्रमुख रामप्रसाद भट्टले निकुञ्जको मध्यवर्ती क्षेत्र रेबिजको उच्च जोखिममा रहेको बताए ।

स्यालले टोकेका र अन्य जोखिमा रहेका घरपालुवा बाख्रा, कुकुरलगायत रेबिजविरुद्धको सुई दिनका लागि पशु प्राविधिकको टोलीलाई खटाइएको उनले जानकारी दिए । केही दिनभित्रै सामुदायिक कुकुरलाई बन्ध्याकरण गर्ने कार्यक्रम सुरु हुन लागेको उनले उल्लेख गरे ।

प्रतिक्रिया