मंगलबार, माघ १३, २०८२

३ सय २० विपन्न परिवारलाई खाद्यान्न वितरण

मेरोन्यूज २०८० फागुन २६ गते २१:२२

बाँके । मुस्लिमको महान् पर्व रमजान पर्वलाई ध्यानमा राखेर मुस्लिम समुदायका अतिविपन्न तीन सय २० परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले आज यहाँ आयोजना गरिएको एक समारोहबीच बाँकेका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो । लुम्बिनी प्रदेशका पूर्वसहरी विकास मन्त्री कृष्णा केसी, कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब सईद अल्मर्री र कतार च्यारिटी नेपालका कन्ट्री डायरेक्टर मोहम्मद वकासले संयुक्त रुपमा खाद्यान्न वितरण गरे ।

लुम्बिनी प्रदेशका पूर्वसहरी विकासमन्त्री केसीले अतिविपन्न परिवारको छनोट गरी रमजान पर्वका लागि खाद्यान्न वितरण गरिनु निकै सराहनीय काम भएको भन्दै यसबाट चाडपर्व मनाउन सहज हुने बताए ।

कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब साइद अल्मर्रीले खाद्यान्न वितरण गर्न पाउँदा खुसी लागेको जनाउँदै यसले रोजा बस्न र रमजान पर्व मनाउन सहयोग गरेको बताए ।

सो अवसरमा हरेक परिवारलाई रु चार हजार दुई सय ३८ बराबरका २५ किलो चामल, पाँच किलो पिठो, पाँच लिटर खाने तेल, तीन केजी चना, दुई केजी चिनी, एक प्याकेट नुन र एक किलो सेवई वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।

प्रतिक्रिया