आइतबार, फागुन ३, २०८२

कर्णाली पुलमा ट्रकमा लागेको आगो नियन्त्रणमा आयो, पुलमा क्षति

मेरोन्यूज २०८० फागुन २८ गते २१:३१

काठमाडौं।  सुदूरपश्चिमलाई लुम्बिनी प्रदेशसँग जोड्ने चिसापानीस्थित कर्णाली नदीमा गुडिरहेको ट्रकमा लागेको आगो नियन्त्रणमा आएको छ। सोमबार विरगञ्जबाट महेन्द्रनगर आउँदै गरेकोे ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको थियो।

Advertisement
nepal life insurencenepal life insurence

ट्रकमा लागेको आगोको लप्काले पुलको लठ्ठामासमेत सल्किएको थियो। तर पुलको लठ्ठामा लागेको आगो भने दमकलको सहयोगले निभाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए।

लाइटर बोकेको ट्रक भएकाले दमकलले निभाउने प्रयास गर्दा ग्यासका कारण आगो सल्किएको बताउँदै डीएसपी चन्दले डोजरको सहायताले बालुवाको प्रयोग गरेर निभाइएको जानकारी दिए।

ट्रक चालक र सहचालक सकुशल रहेका छन्। ट्रकमा एक करोड भन्दा बढी मूल्य बराबरको लाइटर रहेका थिए। आगलागीको कारण भने खुल्न सकेको छैन।

कर्णाली सुदूरपश्चिमलाई लुम्बिनी प्रदेशसहित पूर्वसंग जोड्ने पुल हो। पुलमा गुडिरहेको ट्रकमा एक्कासी आगो लागेपछि सोमबार दिउँसोदेखि पुल भएर हुने आवतजावत ठप्प छ।

कर्णाली पुल भएर भित्रिने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गको प्रयोग गरी कोठेघाट हुँदै हुलाकी राजमार्गबाट पठाइरहेको प्रहरीले जनाएको छ।

कर्णाली पुलमा आवतजावत बन्द भएपछि कोठियाघाटको पुल भएर यातायातका साधन चलिरहेका छन्। यो घटनापछि कर्णाली पुलमा आवतजावत ठप्प गरिएको हो।

प्रत्यक्ष रुपमा लट्ठा पग्लिएको देखिएपछि आवतजावत बन्द गरिएको छ। पुलको क्षति अवलोकनका लागि काठमाडौँमा प्रावधिक टीमलाई खबर गरिएको छ।

मंगलबार प्रावधिक टोली आएर पुलको परीक्षण गर्ने छ। त्यसपछि मात्रै पुल सञ्चालन गर्ने/नगर्ने अवस्था यकिन हुने छ।

प्रतिक्रिया