आइतबार, फागुन ३, २०८२

पर्साकाे ठाेरीमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु

मेरोन्यूज २०८० चैत ५ गते २०:१८

वीरगन्ज। पर्साकाे ठाेरी गाउँपालिका-४ मालीबस्तीमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु भएकाे छ। बाघकाे आक्रमणबाट ठाेरी गाँउपालिका वडा नम्बर ४ मालीबस्तीकी ४० बर्षिया कलावती सुबेदीकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाेरीले जनाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

इलाका प्रहरी कार्यालय ठाेरीका प्रहरी निरीक्षक सन्ताेष राईका अनुसार मालबस्ती गाँउ नजिकैको जंगल छेउमा घाँस काट्न गएका बेला साेमबार साँझ ५ बजेतिर जंगलबाट आएकाे बाघले आक्रमण गर्दा सुबेदीकाे मृत्यु भएकाे हाे।

आक्रमण गर्ने बाघ भने जंगलतिर भागेकाे स्थानीयले बताएका छन्। मृतक महिलाकाे शव पाेष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाउने तयारी भइरहेकाे प्रहरी निरीक्षक राईले जानकारी दिए।

एक महिनाभित्रै पर्सामा बाघकाे आक्रमणबाट ज्यान गुमाउनेकाे संख्या दुई पुगेकाे छ । यसअघि पटेर्वा सुगाैली गाँउपालिकामा बाघकाे आक्रमणबाट एक पुरुषकाे मृत्यु भएकाे थियाे।

पर्साकाे ठाेरी,पटेर्वासुगाैली र सखुवा प्रसाैनी गाँउपालिकाका विभिन्न गाँउमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएकाे छ। आतंक मच्चाउने दुई बाघमध्ये भाले पाटे बाघलाई गत बिहीबार मात्रै तीन वटा हात्तीकाे मदतमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त प्राविधिक टाेलीले सखुवा प्रसाैनी गाँउपालिका स्थित उँखुबारीबाट डाट हानेर नियन्त्रणमा लिएको थियाे। पाेथी बाघलाई नियन्त्रणमा लिन भने उक्त टाेली असफल भएकाे थियाे।

प्रतिक्रिया