मंगलबार, चैत २४, २०८२

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आवश्यक बजेट उपलब्ध हुन्छ : प्रधानमन्त्री

मेरोन्यूज २०८० चैत २५ गते २०:२७

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बागमती प्रदेश खेलकुद परिषद्द्वारा आज आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय प्रतियोगितामा उनले भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेको र आवश्यक बजेट पनि प्रबन्ध गरिने बताए।

“गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा रूपान्तरण भएपश्चात निर्माणकार्यमा यसअघि देखिएका विभिन्न प्रकारका समस्याहरूको एकीकृत समाधान हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “निर्माणकार्य द्रूततापूर्वक अगाडि बढ्नेछ । यसका निम्ति आगामी वर्षको बजेटमा पर्याप्त स्रोत सुनिश्चित गरिने व्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु ।”

क्रिकेट रंगशाला निर्माणपछि कृषि, पर्यटन, स्वास्थ्यका साथै चितवन र आसपासको क्षेत्र ‘स्पोट्र्स् हब’ का रूपमा विकास हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले रंगशालामा ठूला राष्ट्रियस्तरका प्रतियोगिताहरू सम्पन्न गर्ने उपर्युक्त वातावरण मिल्ने बताए ।

खेलकुदमा नयाँ अवसर सिर्जना भएसँगै युवामा शारीरिक एवं मानसिक स्फूर्ति, सामाजिक जीवनका बहुआयमिक क्षेत्रमा विकास गर्नुका साथै चुनौतीपूर्ण परिस्थितिमा रहेको युवा पलायन रोक्नसमेत मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले राष्ट्रिय, प्रदेशस्तरीय एवं स्थानीयस्तरमा आयोजना हुने प्रतियोगिताको बहुआयमिक महत्त्व रहने बताए ।

चितवनमा आयोजना भएको प्रतियोगिताले यहाँका पर्यटन, होटल व्यवसाय र स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाँच हजारभन्दा बढी खेलकर्मीले यस प्रतियोगितामा प्रत्यक्ष सहभागी हुने भएकाले चितवनका कला संस्कृतिको समेत प्रवर्द्धन हुने बताए।

प्रतिक्रिया