गलेश्वरमा नौ महिनामा ४२ लाख भेटी सङ्कलन

म्याग्दी । बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा नौ महिनाको अवधिमा रु ४२ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म मेलापर्वमा रु १९ लाख ७८ हजार आठ सय १८ र मण्डपमा रु २२ लाख ७९ हजार सात सय ९२ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका कोषाध्यक्ष कुमारी रोकाले चैत महिनाको बुधबार गणना गरिएको रु चार लाख ५९ हजार एक सय ३५ सहित चालु आवको नौ महिनामा रु ४२ लाख ५८ हजार छ सय १० भेटी सङ्कलन भएको जानकारी दिनुभयो । साउन सोमबारमा रु नौ लाख २७ हजार एक सय ७८, बाला चर्तुदशीमा रु छ लाख २१ हजार नौ सय २२ र शिवरात्रीमा रु चार लाख २९ हजार सात सय १८ भेटी सङ्कलन भएको हो । कोषको आम्दानी भेटी र बैंकको ब्याजसहित रु तीन करोड ७० लाखभन्दा बढी रहेको छ ।
मन्दिरको आम्दानी कर्मचारीको तलब, कार्यालय, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृत विद्यालय सञ्चालनमा परिचालन गरिएको छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।
धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् ।
कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।
हिन्दूधर्म ग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्री पर्वमा विशेष मेला लाग्ने गर्छ । यहाँ दैनिक नित्य पूजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

















पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन
उज्यालो नेपाल पार्टीले सार्वजनिक गरेकाे निर्वाचन प्रतिबद्धतापत्रमा के छ ?
पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
प्रतिक्रिया