धूमपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगञ्ज

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ । नयाँ वर्ष २०८१ को प्रारम्भसँगै धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको उपमहानगर कार्यालयले जनाएको छ ।
पहिलो चरणमा सचेतना प्रवर्द्धन र कानुनी प्रावधानबारे सचेत बनाउने गरी उपमहानगर अगाडि बढेको नगर प्रमुख प्रशान्त विष्टले बताए । धूमपान तथा सुर्तीजन्य पदार्थको कानुनसम्मत बिक्री वितरण, सार्वजनिक ठाउँमा पूर्णरुपमा सेवन निषेध तथा आमरुपमा सेवनदर घटाउने उद्देश्यका साथ अभियान थालिएको उनले जानकारी दिए ।
धूमपान र सुर्तीजन्य पदार्थको सेवनले निम्त्याउने स्वास्थ्य जटिलता, पारिवारिक तनाव र सामाजिक व्यवहारको असरलाई आमनागरिकमा सञ्चार गर्दै स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाइने प्रमुख विष्टको भनाइ छ ।
सचेतना प्रवर्द्धको अभियानसँगै दण्ड, जरिवाना र कारबाहीको प्रक्रियालाई पनि अगाडि बढाउने नीति उपमहानगरले लिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । उनले सार्वजनिक ठाउँ, निकाय र पसलहरूमा नियमन गर्ने बताउँदै पालना नगरेको पाइए सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ बमोजिम कारबाही गरिने स्पष्ट पारे ।
नेपालगञ्ज उपमहानगरपालिकाले आज बिहान प्रभातफेरी गरेर अभियानको औपचारिक सुरुआत गरेको छ । धूमपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रण, नियमन तथा सचेतनामूलक प्रभातफेरी गरिएको प्रमुख विष्टले बताए । भेरी अस्पतालबाट सुरु भएको प्रभातफेरी त्रिभुवनचोकमा पुगेर समापन भएको थियो ।
प्रभातफेरीमा नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्की, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, सर्वसाधारण, पत्रकारलगायतको उपस्थिति थियो ।
प्रभातफेरी पश्चात् आयोजित कार्यक्रमलाई नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी पोखरेल र प्रहरी प्रमुख कार्कीले सम्बोधन गर्दै धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि आम नगरवासीको साथ आवश्यक रहेको बताए । स्वस्थ र सुसंस्कृत समाज निर्माणका लागि प्रत्येक नागरिकले स्वतःस्फूर्त धूमपान र सुर्तिजन्य पदार्थ त्याग्ने प्रतिज्ञा गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
धूमपान र सुर्तिजन्य पदार्थको सेवनले मुटु रोग, क्यान्सर जस्ता खतरनाक रोगको जोखिम बढाइरहेको छ । एक अध्ययन अनुसार कूल मृत्युको १५ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ । २९.९ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको प्रमुख विष्टले जानकारी दिए ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया