आइतबार, फागुन ३, २०८२

प्रविधिको क्षेत्रमा लगानी भित्र्याउन सञ्चारमन्त्रीको आग्रह

मेरोन्यूज २०८१ वैशाख ९ गते १८:१७

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सम्मेलनको पूर्वसन्ध्यामा प्रविधिको क्षेत्रमा विनाहिच्किचाहट लगानी भित्र्याउन आग्रह गरेकी छिन्। आइतबार सिंहदरबारमा आयोजित एसिया प्रशान्त क्षेत्रका विभिन्न १७ राष्ट्रका सूचना प्रविधि उद्योगका प्रतिनिधिसँगको छलफल कार्यक्रममा उनले सूचना प्रविधिको क्षेत्रमा विनाहिच्किचाहट लगानी भित्र्याउन आग्रह गरेकी हुन्।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्री शर्माले आगामी वैशाख १६ र १७ गते सरकारले गर्ने तेस्रो लगानी सम्मेलनमा विदेशी लगानीका साथै नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई सँगसँगै लैजाने तयारी रहेको जानकारी दिइन्। त्यसका लागि आवश्यक कानुनी र संरचनात्मक सुधार भइरहेको उनको भनाइ छ ।

‘लगानी सम्मेलनको पूर्वसन्ध्यामा आज उपस्थित एसिया प्रशान्त क्षेत्रका १७ राष्ट्रका आइटी उद्योगका प्रतिनिधिलाई सूचना प्रविधिको क्षेत्रमा विनाहिचकिचाहट लगानी भित्र्याउन र आफ्नो संघ संस्थामार्फत आवश्यक पहल गर्न अनुरोध गर्दछु,’ उनले भनिन्, ‘यसका लागि नेपाल सरकार आवश्यक सहजीकरण गर्न एवं विश्वासको वातावरण निर्माण गर्न तयार छ।’

मन्त्री शर्माका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ समसामयिक परिमार्जनको कार्य अगाडि बढाएको छ । डिजिटल फाउन्डेसनका डिजिटल सार्वजनिक पूर्वाधारलाई सुरक्षित र अन्तर्क्रियात्मक बनाउँदै समग्र प्रणालीप्रतिको विश्वासलाई वृद्धि गरी सुशासन र विकासमा टेवा पुर्‍याउने सरकारको लक्ष्य छ ।

प्रविधिको सुरक्षित प्रयोग एवं ‘डिजिटल इकोसिस्टम’ निर्माणका लागि आवश्यक कानुन सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक निर्माणलाई तीव्रता दिइएको उनले जानकारी दिइन्।

गत आर्थिक वर्षमा मात्र ६७ अर्बबराबरको सफ्टवेयर निर्यात भएको सन्दर्भमा युवा पलायन रोक्न देशभित्रै रोजगारी सिर्जना गर्ने र स्वतन्त्र रूपमा सफ्टवेयर निर्यात गर्न सक्ने भएकाले सरकारले ०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिने उनको भनाइ छ।

प्रतिक्रिया