त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती

गलेश्वर (म्याग्दी) । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौंदेखि त्रिपालको ओतमुनि रहेको छ । तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीमा त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा जस्तापाताको छाना नहाल्दा त्रिपालको ओतमुनि बसेर बिरामीहरु तातोपानी कुण्डमा डुब्न वा स्नान गर्न बाध्य छन् ।
अघिपछि कुनै समस्या नहुने भए पनि ठूलो पानी पर्दा र चर्को घाम लाग्दा भने समस्या उत्पन्न हुने र बिरामीले सास्ती व्यहोर्नुपर्ने कुण्डमा डुब्न आएको चिमखोलाका शेरबहादुर पुनले बताए ।
दर्मिजा गाउँको पुछारमा रघुगङ्गा नदीको किनारमा रहेको यस कुण्डको मुहानबाट ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ ।
प्राकृतिक तातोपानीमा डुब्दा विभिन्न रोग निको हुने विश्वास गरिन्छ । यसअगाडि सानो पोखरी रहेकोमा तीन वर्षअघि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पोखरी निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद पुनले जानकारी दिए ।
रघुगङ्गा नदीको किनारमा अलगअलग ठाउँमा चार वटा पोखरी बनाइएको छ । कुण्डमा जाने ठाउँको दक्षिणतर्फ जल बराहको मन्दिर छ । मुख्य कुण्डको माथि त्रिपाल हालेर घाम पानी छेक्ने बनाइएको अध्यक्ष पुनले जानकारी दिए। मन्दिरको दाँहिनेतर्फ रहेको तातोपानीको पोखरीमा त्रिपालको छाना हालिएको छ ।
सो पोखरीमा एकपटकमा २५ जनासम्मले डुबेर उपचार सेवा लिँदै आएका छन् । मन्दिरको देब्रेतर्फ सानाठूला गरी तीन वटा पोखरी छन् । एउटा पोखरीमा २० जना, अर्कोमा १० जना र तेस्रो पोखरीमा पनि १० जनाले एकसाथ बसेर डुब्न सक्नेगरी पक्की पर्खालसहित निर्माण गरिएको छ ।
यी पोखरी निर्माण गर्न जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले रु ३५ लाख सहयोग गरेको थियो । कोरोनाको जोखिमका बेलामा पनि स्थानीय मजदुर परिचालन गरी पोखरी निर्माण गरिएको दर्मिजा तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ।
५० डिग्री सेल्सियसभन्दा बढी तातोपानी निस्कने मुहान यहाँ रहेको छ । सो मुहानको पानी सङ्कलन गरे छालासम्बन्धी रोग, चोटपटक, बज्रिएको, सुन्निने जस्ता समस्या निको हुने विश्वास छ । यहाँ स्नान गर्न आउने पाहुना तथा पर्यटकलाई बस्न मिल्ने स्थानको निर्माण पनि यस अगाडि भइसकेको स्थानीय ललिता गर्बुजाले बताइन् ।
यस पोखरीको नजिक एउटा आकर्षक झरनासमेत रहेको छ । यस स्थानलाई सुरक्षित राख्नका लागि अहिले तटबन्धको कार्यसमेत भइरहेको समितिले जनाएको छ ।
यहाँ डुबेर उपचार सेवा लिनका लागि रघुगङ्गा गाउँपालिकाका विभिन्न ठाउँबाट बिरामी आउने गरेका छन् । त्यसैगरी कुण्डको नजिकै रघुगङ्गा खोलाको पारिपट्टि रहेको झरनामा रमाउन र कुण्डमा डुबुल्की लगाउन टाढाटाढाबाटसमेत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका स्थानीय तिलक गर्बुजाले बताए।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया