सोमबार, चैत २, २०८२

मगर भाषा संरक्षणका लागि ‘अक्खा लिपि’ प्रशिक्षण

मेरोन्यूज २०८१ वैशाख १२ गते १६:२५

वालिङ (स्याङ्जा), । स्याङ्जाको वालिङमा मगर भाषा संरक्षणका लागि अक्खा लिपिका बारेमा प्रशिक्षण दिइएको छ । विशेषगरी नयाँ पुस्तालाई अक्खा लिपिका बारेमा सिकाएर भाषा तथा संस्कृतिको संरक्षणका लागि प्रशिक्षण दिइएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

वालिङ नगरपालिकाको आर्थिक सहयोग र नेपाल मगर सङ्घ वालिङ नगर समितिको आयोजनामा वालिङमा १५ दिने प्रशिक्षण सुरु भएको नगर समितिका उपाध्यक्ष सीता थापाले बताइन्।

“मगर भाषाको संरक्षण र सम्वद्र्धन गर्दै पछिल्लो पुस्तामा हस्तान्तरण गर्नु जरुरी छ”, उनले भनीन्, “बेलैमा भाषा तथा लिपि संरक्षणतर्फ लागिएन भने हाम्रो संस्कार संस्कृति नै लोप भएर जान्छ, लोप हुन नदिनका लागि प्रशिक्षणको आयोजना गरेका हौँ ।

” प्रशिक्षणमा वालिङ नगरपालिकाभित्रका १४ वटा वडाबाट दुई \दुई जना र नगर समितिका पदाधिकारी तथा सदस्य गरी झण्डै ५० जनाको सहभागिता रहेको छ । मगर भाषा बोल्न, लेख्न सिकाइने र प्रशिक्षणमा सहभागी भएकाले गाउँघरमा फर्केर अरुलाई सिकाउने भएकाले भाषा तथा लिपि संरक्षणमा प्रभावकारी भूमिका खेल्ने विश्वास उपाध्यक्ष थापाको छ ।

“भाषा थाहा भए पनि लिपिका बारेमा ज्ञान नहुँदा समस्या हुने गरेको छ”, उनले भने, “विशेषगरी अक्खा लिपिका बारेमा सहभागीलाई लेख्न सिकाइने भएकाले भाषा र लिपि संरक्षण हुने र पछिल्लो पुस्तामा पुस्तान्तरण गर्दै लगिनेछ।”

नेपाल मगर लेखक सङ्घका केन्द्रीय सदस्य एवं भाषाविद् पूर्णबहादुर रानामगरले अक्खा लिपिबाट अन्य धेरै लिपिको विकास भएको बताए।

पुरानो पुस्ताले आफ्नो लिपि नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेमात्रै यसको संरक्षण हुने भएकाले प्रशिक्षण सञ्चालन गरिएको बताए। प्रशिक्षणमा नयाँ पुस्ता एवं युवायुवतीको आकर्षण बढ्दै गएकाले पनि भाषा तथा लिपि संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।

प्रतिक्रिया