झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

झापा, झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने अन्तिमपटकको अभियान आज सुरु हुँदैछ । कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्तीपाइलेको समस्या छ ।
झापाका १५ वटै पालिकाको एक सय ३१ वडामा नौ लाख ६१ हजार आठ सय ६१ जनालाई वैशाख १६ देखि ३० गतेसम्ममा औषधि खुवाउने अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बतए । कोशी प्रदेशका झापाबाहेकका १३ जिल्लामा हात्तीपाइले निवारण भइसकेको छ ।
हाल झापामा दुई सय ८० जनाभन्दा बढी रोगी पहिचान भएका छन् । पहिचान नभएका रोगीको सङ्ख्या अझ धेरै हुनसक्ने उहाँको अनुमान छ । हात्तीपाइले रोग नियन्त्रणका लागि धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा पनि आजै अभियान सञ्चालन हुँदैछ । सामुदायिकस्तरको सङ्क्रमण नरोकिएकाले झापामा औषधि सेवन अभियान सञ्चालन गरिएको कार्यालय प्रमुख बाराकोटीले बताए ।
यस वर्ष एकपटक, अन्तिमपटक’ नाराका साथ सञ्चालित अभियानलाई सफल बनाउन झापामा सात सय ५० स्वास्थ्यकर्मी र छ सय छजना स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । स्वास्थ्य कार्यालयकाअनुसार हालै जिल्लाको दक्षिणी क्षेत्रस्थित झापा गाउँपालिकामा गरिएको एक अध्ययनले लामखुट्टेको शरीरमा हात्तीपाइले रोग सङ्क्रमण गराउने परजीवीको सङ्ख्या एक दशमलव ४४ प्रतिशत पाइएको थियो ।
कचनकबल, अर्जुनधारा, मेचीनगरमा हात्तीपाइलेका रोगीको सङ्ख्या अधिक छ । गत वर्ष झापामा ७८ प्रतिशत जनसङ्ख्याले हात्तीपाइले निवारणका लागि औषधि सेवन गरेको थियो । यसपटक ९५ प्रतिशतलाई खुवाउने लक्ष्य छ । वैदेशिक रोजगारीमा गएका झापाका छजना त्यहाँ हात्तीपाइले रोगको पहिचान भएपछि रोजगारी गुमाएर स्वदेश फर्किनुपरेको छ ।
मेचीनगरका तीन, बाह्रदशीका दुई र कचनकबलका एकजना मलेसियाबाट नेपाल फर्किएका हुन् । झापामा १२ वर्षदेखि सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन गर्दै आएको छ ।
चिकित्सकहरूका अनुसार हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने एक प्रकारको सङ्क्रामक रोग हो । मसिनो धागो आकारको जुकाजस्तै परजीवीको सङ्क्रमणले यस्तो रोग लाग्छ । सङ्क्रमण भएको आठदेखि १३ महिनामा मात्र रोगका लक्षण देखा पर्छ । यो रोग लागेकाको खुट्टा, अण्डकोष र स्तन सुन्निन्छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया