यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । मालिका–१ र मङ्गला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो ।
पश्चिम म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको व्यापारिक केन्द्रका रुपमा रहेको दरबाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि हो ।
छ्यारछ्यारेमा पुल निर्माण भएपछि निस्कोटको दरबाङसँग सिधा यातायात सम्पर्क स्थापित भएको मालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए । “१५ वर्षअघि सडकले जोडिए पनि निस्कोटमा बर्खामा यातायात सञ्चालन बन्द हुँदै आएको थियो”, उनले भने, “छ्यारछ्यारेमा पुल बनेपछि सिङ्गो वडामा बाह्रै महिना यातायात सम्पर्क स्थापित भएको छ ।”
पूर्वाधार विकास कार्यालय म्याग्दीले प्रदीप जुम्ली जेभीसँग विसं २०७७ साउन ४ गते रु चार करोड ४५ लाख ८१ हजारमा ४० मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । उक्त योजनाअन्तर्गत ‘स्टिल ट्रष्ट’ प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयका प्रमुख इञ्जिनियर विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार स्टिल ट्रस्टमाथि ढलान गरी दुवैतर्फ फुटपाथ बनाइएको छ ।
हिउँदयाममा म्याग्दी खोलाबाटै जोखिमपूर्ण यात्रा गर्नुपर्ने र बर्खायाममा पूर्णरुपमा सवारी आवागमन बन्द हुने गरेको अवस्थामा पक्की पुल निर्माण भएपछि राहत भएको मङ्गला–५ छिस्वाङका तिलक गौतमले बताए।
उनका अनुसार यो पुल निर्माण भएसँगै निस्कोटका साथै मङ्गला गाउँपालिकाको छिसवाङ, टिकवाङ र मालिका गाउँपालिकाको रुम र छिमेकी जिल्ला बागलुङको ताराखोलाका सर्वसाधरणसमेत लाभान्वित भएका छन् । निस्कोटबाट मङ्गलाको टिकवाङ–रुम–बागलुङ्को ताराखोला–खोप्टी–छिसवाङसम्म सडक सञ्जालले विस्तार भएको छ ।
















शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया