मंगलबार, चैत ३, २०८२

सगरमाथा आरोहण गरी फकर्ने क्रममा मृत्यु भएका बस्ताकोटीको अन्त्येष्टी

मेरोन्यूज २०८१ जेठ १८ गते १९:२१

काठमाडौं । सगरमाथा आरोहण गरी फकर्ने क्रममा मृत्यु भएका पोखरा महानगरपालिका वडा नम्बर २६ खराने निवासी विनोदबाबु बस्ताकोटीको शुक्रबार शवयात्रासहित अन्त्येष्टी गरिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

जेठ ९ गते बिहान सगरमाथाको सफल आरोहणपछि आधारशिविरतर्फ फर्कने क्रममा आठ हजार २५० मिटर उचाईको चौथो शिविरमा आइपुग्दा साँझ ५ बजेतिर उनको स्वास्थ्यमा एक्कासी समस्या आएको थियो।

लेक लागेर स्वास्थ्यमा समस्या आएपछि उनी तल झर्न नसक्दा सोही स्थानमा दुःखद निधन भएको थियो। ४ जेठमा उनले सगरमाथाको दोस्रो शिविरमा पुगेको भिडिओ सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए।

२०४३ सालमा पोखरा २६ खरानेमा जन्मिएका बस्ताकोटी विगत १५÷१६ बर्षदेखी पर्यटन ब्यबसायमा संलग्न थिए। बस्ताकोटीले यसअघि ६ हजार १४५ मिटर अग्लो लोवुचे पिकसँगै खुम्बु आइसपिकको सफल आरोहण गरेका थिए।

सन् २०२२ देखी लगातार सगरमाथा आरोहणको प्रयास गरिरहेका उनी यसअघि पाँचपटक सगरमाथा आधार शिविरसम्म पुगेका थिए।

बस्ताकोटीको शव सगरमाथा आधार शिविरबाट बिहीबार काठमाडौं ल्याइएको थियो। शव काठमाण्डैबाट पोखरा ल्याएर अन्त्येष्टी गरिएको हो।

अन्त्येष्टीअघि उनको शव श्रद्धाञ्जलीका लागि पोखरा सभागृहमा राखिएको थियो। बस्ताकेटीको शवमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको झण्डा ओढाएका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापा, राजनितिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधिहरु, सरकारी कर्मचारी, आफन्त, स्थानीयसँगै सर्वसाधारणले श्रद्धाञ्जली व्यक्त गरेका थिए।

उनको निधनमा विभिन्न संघसंस्थाले गहिरो दुख व्यक्त गदै शोक विज्ञप्ती जारी गरेका छन्।

पोखरा २६ ले गर्यो वडा रत्न घोषणा
स्वर्गीय बस्ताकोटीलाई पोखरा महानगरपालिका वडा नं २६ ले वडा रत्न घोषणा गरेको छ। वडाध्यक्ष नरेन्द्र थापाले शोक विज्ञप्ती जारी गर्दै वस्ताकोटीको निधनले अपुरणिय क्षती पुगेको बताएका छन्।

बस्ताकोटीको निधनले वडा नंं २६ ले एक नक्षत्र गुमाएको भन्दै उनले वडा रत्न घोषणा गरेको जानकारी दिएका छन्। बस्ताकोटीको स्मरणमा प्रत्येक बर्ष एक युवकलाई साहसी युवा सम्मान प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिए।

प्रतिक्रिया