रैथाने मौरी जोगाउन इच्छाकामनाका किसानलाई आधुनिक घार

चितवन । यहाँको इच्छाकामना गाउँपालिकामा रैथाने मौरी संरक्षणका लागि स्थानीय किसानलाई मौरीको आधुनिक घार वितरण गरिएको छ । काठको मादले घारमा मौरीपालन गर्दै आएका किसानलाई आधुनिक घार वितरण गरिएको हो ।
गाउँपालिका र सपना भिलेज सोसल इम्प्याक्टले आज संयुक्त रुपमा ४० घरधुरीलाई ८० वटा घार वितरण गरेको छ । इच्छाकामना९२ घुर्केसका २० र सोही वडाकै काउलेका २० घरधुरीलाई पालिकाको ५० प्रतिशत र सपना भिलेजको ५० प्रतिशत लगानीमा मौरी घार वितरण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।
आर्थिक अभावका कारण घार किन्न नसकेका यहाँका किसानले घरको भित्ता, रूखको धोद्रो, काठको मादले घारमा मौरीपालन गर्दै आएका छन् । आधुनिक मौरीपालनमार्फत महको उत्पादन बढाउने र मौरी संरक्षण गर्ने उद्देश्यले मौरी घार उपलब्ध गराएको उनले बताए । घारसँगै मौरीपालनका लागि आवश्यक औजारसमेत प्रदान गरिएको छ । सुपर घारसहित टोपी, पञ्जा, धुँवादानी, आधार चाका प्रदान गरिएको अध्यक्ष गिरीले जानकारी दिए ।
सोही वडाको पर्यटकीयस्थल मायाटारको नजिक रहेका बस्तीहरुमा पर्यापर्यटनको विकासका लागि रैथाने मौरी संरक्षणको काम सुरु गरिएको हो । “मौरीसँगै मौरीको स्रोत संरक्षण गरेर रैथाने मौरी जोगाउनुपर्ने देखियो,” अध्यक्ष गिरीले भने, “व्यावसायिक मौरीपालनका लागि मात्र होइन रैथाने मौरी जोगाउन पनि घार दिएका हौँ ।”
उनका अनुसार मायाटार र आसपासका क्षेत्रमा चरीचरनका लागि चिउरी, लालीगुराँस, टाँकी, पड्के, रुदिलो, किम्बु, चिलाउने जस्ता वनस्पति मौरीपालनको स्रोतको रुपमा रहेको छ । विकट बस्तीमा उत्पादन भएको चिउरीको महको बजार राम्रो छ ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले रैथाने मौरीको संरक्षण, स्थानीय समुदायको जीविकोपार्जन, पर्यापर्यटनको विकासका लागि मौरीको घार प्रदान गरिएको बताए । इच्छाकामनाका गाउँहरु पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको र यहाँ आउने पाहुनाहरुले स्थानीय रैथाने मौरीको मह मन पराउने गरेको उनले बताए ।
घार वितरणपूर्व सपना भिलेजले मौरीपालन गरिरहेका किसानलाई दुईदिने तालिम दिएको थियो । सपना भिलेजले कालिका नगरपालिकाको सिद्धिमा पनि २० घरधुरीलाई चार सय घार मौरी वितरण गरेको जनाएको छ । ४० लाख लगानी गरी नगरपालिकासँगको सहकार्यमा सपना भिलेज सोसल इम्प्याक्टले चेपाङहरुलाई घार वितरण गरिएको हो ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया