सोमबार, चैत ९, २०८२

प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन

मेरोन्यूज २०८१ जेठ २० गते १८:५०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले प्रसूति तथा स्त्री रोग अस्पतालको कुपण्डोलस्थित नयाँ भवन यथाशीघ्र सञ्चालन गर्न निर्देशन दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्री यादवले आज स्वास्थ्य मन्त्रालयका पदाधिकारीको टोलीसहित प्रसूति गृहको अनुगमन गर्दै नयाँ भवन पूर्णरुपमा सञ्चालन गर्न, शौचालयको राम्रो व्यवस्थापन गर्न, आउटरिच क्लिनिकको सेवा बढाउने लगायत निर्देशन दिँदै मन्त्रालयको तर्फबाट सहयोगको प्रतिबद्धता गरे । उनले बच्चाहरुको शल्यक्रियाका लागि कान्ति बाल अस्पतालसँग शय्याका लागि समन्वय गर्न पहल गर्ने समेत उल्लेख गरे।

प्रसूतिगृहको सो भवन गत फागुन २ गते उद्घाटन भइसकेको छ । पाँच तल्ले भवनमा ओपिडी सेवा, सुरक्षित गर्भपतन सेवा पाठेघरको क्यान्सरको जाँच, पिसाब चुहिने समस्या, टेष्टट्युव बेबीलगायतका सेवा प्रवाह हुनेछ ।

सा अवसरमा मन्त्री यादवले पोस्ट न्याटल वार्ड, स्पेसल बेबी केयर युनिट, नवजात शिशु कक्ष, एनआइसियु, ह्युमन मिल्क बैँक कक्षहरु अनुगमन गरेका थिए । भवन निर्माणको पैसा भुक्तानी नहुँदा सञ्चालनमा आउन नसकेको अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले जानकारी गराए । उनले भने, “नयाँ भवन छिट्टै सञ्चालनमा आउनेछ । अस्पतालमा पार्किङ र जनशक्तिको अभाव छ । एनआइसियुको बेडको स्तरोन्नति गराउनुपर्ने छ ।”

मन्त्रीसमक्ष नर्स इन्दिरा ढुङ्गेलले नर्सिङ जनशक्तिको अभाव भएका कारण दुई जना नर्सले ५२ जना आमाको हेरचाह गर्नुपरेको बताउँदै दरबन्दी बढाउन माग गरिन्। सो अस्पतालको ओपिडिमा दैनिक आठ सयदेखि एक हजारसम्मले सेवा लिने गरेका छन् ।

प्रतिक्रिया