मंगलबार, चैत ३, २०८२

नवप्रवर्तन सर्वेक्षण सञ्चालन गर्ने सहमति

मेरोन्यूज २०८१ जेठ २१ गते ९:४६

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र थापाथली क्याम्पसविच नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समझदारी भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार भएको सम्झौतामा मन्त्रालयको तर्फबाट वरिष्ठ डिभिजन इन्जिनियर मनीषा महर्जन र क्याम्पसको तर्फबाट इण्डष्ट्रियल इन्जिनियरिङ विभागका प्रमुख सुशान्तराज गिरीले हस्ताक्षर गरेका छन् ।

औद्योगिक प्रतिष्ठानमा उत्पादन तथा उत्पादकत्व वृद्धि तथा प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्न नवप्रवर्तनको महत्वपूर्ण भूमिका रहने भएकाले उद्योगमा भएको नवप्रवर्तनको स्तर अध्ययन गर्न तथा उद्योगमा नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्न समझदारी गरिएको मन्त्रालयका विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनीले बताएका छन् ।

सम्झौतामा हस्ताक्षर भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयमा अङ्कुरित विचार तथा आविष्कारले राष्ट्रिय नीतिमा योगदान दिने शैक्षिक वातावरणको विकास गर्नुपर्ने बताए ।

“यो सम्झौता प्रस्थान विन्दु हो । अनुसन्धान, नवप्रवर्तन, व्यावसायिकता र उद्यमशीलतालाई उच्च शिक्षाको अभिन्न अङ्गको रूपमा विकास गर्न ‘इन्डस्ट्री एकेडेमिया इन्टरफेस’ अनुरूप अघि बढ्ने हाम्रो नीति बजेटमै समावेश भइसकेको छ ।” मन्त्री श्रेष्ठले भने।

समझदारीअनुसार क्याम्पसले उद्योगमा संलग्न नवप्रवर्तन सर्वेक्षण, २०२४ को प्रश्नावलीअनुसार नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्नेछ । उक्त सर्वेक्षण कार्यक्रममा औद्योगिक इन्जिनियरिङ विषयमा कम्तीमा तेस्रो वर्षमा अध्ययनरत स्नातक तहका दश जना विद्यार्थीलाई खटाउनु पर्नेछ ।

क्याम्पसको विभागले मेरिटका आधारमा सर्वेक्षण कार्यमा खटिने विद्यार्थीको छनोट गरी मन्त्रालयमा जानकारी गराउनुपर्नेछ। प्रत्येक विद्यार्थीले १२ वटा उद्योगको उद्योग स्थलमा गई नवप्रवर्तन सर्वेक्षण गर्नेछन् । सर्वेक्षण तथा प्रतिवेदनको समयावधि एक महिनाको हुनेछ । सर्भेक्षणमा सहभागी हुने विद्यार्थीलाई सामान्य खाजा खर्च र सर्भेक्षण खर्च उपलब्ध गराउनेछ ।

सर्वेक्षणका लागि विभागले आफैँ उद्योगहरूको छनोट गर्न सक्नेछ । उद्योगहरूको सूची सर्वेक्षण गर्नुअगावै मन्त्रालयमा पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया