मंगलबार, चैत २४, २०८२

राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि दीपक कालीराजलाई

मेरोन्यूज २०८१ जेठ ३२ गते २१:५७

काठमाडौँ । राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम भएका छन् । बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा दुई प्रतिस्पर्धीलाई पछि पार्दै कालीराजले प्रथम स्थान हासिल गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतियोगितामा धनुषाका राजा राजपुत द्वितीय र रुपन्देहीका सुरज खातीले तृतीय स्थान हासिल गर्न सफल भए । युवा तथा खेलकुद मन्त्रालय, परिषद्को आयोजना र मिसन सञ्चार मल्टिमिडिया प्रालिको सहआयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले प्रतियोगिताको विजेता कालीराजलाई विजेताको ट्रफी, प्रमाणपत्र हस्तान्तरण गरे ।

उपाध्यक्ष बस्नेतले युवा लक्षित यस्ता सृजनात्मक प्रतिस्पर्धाले देशका कुना कन्दरामा लुकेर रहेका प्रतिभाशाली युवालाई आफ्नो प्रतिभा देखाउने उपयुक्त थलो भएको र यसले युवापुस्तालाई अभिप्रेरित गर्ने बताए । मिसन सञ्चार मल्टिमिडियाका अध्यक्ष पार्वती चापागाईंले विजेतालाई नयाँ गीत रेकर्डिङको लागि सम्झौतापत्र प्रदान गरे ।

विजेताको रेकर्ड गरिने नयाँ गीतको शब्द रचनाका लागि गीतकार बी पाण्डे, सुमन बैरागी र गणेश सुवेदीलाई साथै सङ्गीत भर्नका लागि सङ्गीतकार बीपी वाग्लेलाई जिम्मेवारी दिइएको थियो । गायन रियालिटी सोमा १६ देखि ४० वर्ष उमेरका देशभरबाट ६५ युवाले सहभागिता जनाएका थिए ।

डिजिटल अडिसनमा सहभागी प्रतिस्पर्धी मध्येबाट २१ जना छनौट गरी फिजिकल अडिसन अर्थात फिजिकल प्रतिस्पर्धाका लागि राजधानी काठमाडौँ बोलाइएको थियो । सोही २१ जना प्रतिस्पर्धी मध्येबाट शीर्ष नौ, शीर्ष छ र शीर्ष तीन गरी विजेताको टुङ्गो लगाइएको थियो । प्रतियोगितामा सङ्गीतकार बीपी वाग्ले, लोक गायिका देवी घर्तीमगर र गायक भद्र वलीले निर्णायकको भूमिका निभाएका थिए ।

कार्यक्रम सञ्चालन वरिष्ठ सञ्चारकर्मी हेम सुवेदीले गरेका थिए । अवसरमा विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएका पत्रकारमध्ये पर्यटनतर्फ राससकर्मी सिबी अधिकारी, फोटो पत्रकारितामा कान्तिपुरकर्मी प्रकाशचन्द्र तिमिल्सिना, कला साहित्यतर्फ गोरखापत्रकर्मी सुकृत नेपाल, चलचित्र अनलाइन पत्रकारितातर्फ नवीन गिरी, देशप्रेम सप्ताहिककर्मी तारा सुवेदी, आलोचना साप्ताहिककर्मी गङ्गा बराल र स्पेश फोरकेकर्मी विनिता कुँवर क्षत्रीलाई कदर–पत्रद्वारा सम्मानित गरिएको थियो ।

प्रतिक्रिया