बुधबार, चैत ११, २०८२

मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान,सीप र पुँजी नेपाल भित्र्याउन अध्यक्ष ढकालको आग्रह

मेरोन्यूज २०८१ असार २ गते १८:४३

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अस्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरूलाई आह्वान गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैर आवासीय नेपाली सङ्घ, अस्ट्रेलियाको संयुक्त आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालीहरूले मुलुकबाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन आवश्यक रहेको उल्लेख गरे।

ढकालले नेपालमा लगानीका असीमित सम्भावना रहेको र लगानीको वातावरण पनि बन्दै गएको धारणा राखे।

‘नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषि जन्य उद्योगहरूको प्रचुर सम्भावना रहेको छ,’ उनले भने, ‘लगानी सम्मेलन २०२४ लाई लक्षित गरी नेपाल सरकारले आधा दर्जनभन्दा बढी कानुनहरू संशोधन गर्दै प्रत्यक्ष वैदेशिक लगानी तथा आन्तरिक लगानी वृद्धिका लागि वातावरण सिर्जना गर्न पहल गरेको छ।’

महासंघको नेतृत्वमा स्थापना हुने १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनीको विषय सरकारले आगामी वर्षको लागि ल्याएको बजेटमा समेत समावेश गरेको उल्लेख गर्दै यसले नेपालमा विभिन्न सम्भावित आयोजनाहरूमा लगानी गर्ने बताए।

उनले यस कम्पनीमा शेयर लगानी गर्दै नेपालको विकास र सम्मृद्धिमा हातेमालो गर्न अस्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरूलाई आग्रह गरे।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघमा वैदेशिक लगानी प्रवर्तनका लागि छुट्टै एफडीआई डेक्स स्थापना गरेको बताउँदै मुलुकमा स्वदेशी तथा विदेशी दुवै लगानी भित्र्याउन आवश्यक सहयोग तथा सहजीकरण गर्न सदैव तयार रहेको बताए।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बोमबहादुर मिश्रले नेपालमा रेमिट्यान्स पठाउँदा औपचारिक बैङ्किङ माध्यमको प्रयोग गर्न जोड दिएका छन्।

उनले कुनै पनि विदेशी व्यक्ति तथा गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा त्यहाँ गरेको मुनाफा मुलुक बाहिर लैजान कुनै समस्या नरहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने समेत बताए।

ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाली बैकहरू ठूलाठूला लगानीका लागि समेत सक्षम बन्दै गएको धारणा राखे।

नेपाली बैंकहरु नेपाल राष्ट्र बैंकको रेगुलेसनमा रहेको बताउँदै नेपाली बैंकमा निक्षेप राख्दा सुरक्षित हुने र तुलनात्मक रुपमा बढी ब्याज पाइने समेत उल्लेख गरे।

उनले ग्लोबल आइएमई बैंकले गैर आवासीय नेपालीहरूलाई बैङ्किङ प्रणाली मार्फत नेपालमा पैसा पठाउन वा अध्ययन, भ्रमण तथा अन्य प्रयोजनको लागि अष्द्रेलिया आउने नेपालीहरूलाई विभिन्न बैङ्किङ सेवाहरू उपलब्ध गराउने बताए। कार्यक्रममा २०० बढी गैर आवासीय नेपालीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया