शुक्रबार, फागुन १, २०८२

प्रत्यक्ष निर्वाचनमा महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्ने माग

मेरोन्यूज २०८१ असार ६ गते १५:०२

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध नेताहरुले प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता बढाउन छुट्टै सिट निर्धारण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल महिला संघले बिहीबार गरेको कार्यक्रममा सहभागीले निर्वाचनमा सबै राजनीतिक दलले थोरै सङ्ख्यामा महिला उम्मेदवार बनाउने गरेकाले विजयी हुनेको सङ्ख्या पनि कम हुने भन्दै महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्ने धारणा व्यक्त गरे ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्ने विषय सकारात्मक रहेको बताए। “प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता बढाउन अलग्गै सिटको व्यवस्था गर्नुपर्छ भन्ने सकारात्मक विषय हो”, उनले भने । त्यसअघि पार्टीभित्र हुने अन्तर्घात अन्त्य गर्न सके महिलाले थप अवसर पाउने उनको भनाइ छ ।

सभापति देउवाले मुलुकमा भएको समावेशी समानुपातिक व्यवस्थाले महिलालाई राज्यका हरेक क्षेत्रमा स्थान दिएको र उक्त व्यवस्थाले आगामी दिनमा पनि अझ सशक्त र प्रभाकारी भूमिका निर्वाह हुँदै जाने अपेक्षा गरे । संसारमा महिला अधिकार र समावेशी समानुपाति व्यवस्थाका विषयमा आवाज उठिरहेको भन्दै उनले नेपालमा यसको उपलब्धिकारुपमा राष्ट्रपति पदमा महिला सहभागी भइसकेको उल्लेख गरे ।

भोलिका दिनमा यस्तै महत्वपूर्ण जिम्मेवारीमा महिला आउन सक्ने बताउँदै सभापति देउवाले त्यसका लागि तयारी गरेर आफूलाई योग्य र सक्षम बनाउन सबै महिलालाई आग्रह गरे ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाले महिलाले राजनीतिक सशक्तिकरणका साथै आर्थिक र सामाजिक सशक्तिकरण पनि आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताए । उनले विद्यमान आरक्षणको प्रतिशत वृद्धिको मागसँगै त्यसका लागि आफू सक्षम हुनुपर्नेमा जोड दिए ।

नेता कोइरालाले संविधान संशोधन गरेर भए पनि आगामी दिनमा प्रत्यक्ष निर्वाचनमा महिलाले मात्र प्रतिस्पर्धा गर्नेगरी सिट निर्धारणको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे ।

महामन्त्री विश्वप्रकाश शर्माले समाजमा देखिएका महिला हिंसा र द्वन्द्व न्यूनीकरणका लागि महिला संघले नेतृत्वदायी भूमिकाका साथ अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए । उनले महिला संघसँग राजनीतिक संघर्षको लामो इतिहास भएको उल्लेख गर्दै समाजमा शान्ति कायम गर्न, थिति स्थापित गर्न संघ लाग्नुपर्ने धारणा राखे ।

कांगेस प्रवक्ता डा प्रकाशशरण महतले अभिव्यक्ति स्वतन्त्रता नभएसम्म कसैले पनि अधिकार नपाउने भएकाले कांग्रेसले समयसमयमा विभिन्न राजनीतिक आन्दोलन गर्नुपरेको बताए । उनले प्रत्यक्ष निर्वाचनमा महिलाले मात्र प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न संविधान संशोधनतर्फ जानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया