शुक्रबार, फागुन १, २०८२

दिगो विकासका लागि पूर्वाधार निर्माणमा जनसहभागिता आवश्यक : पूर्वमन्त्री यमी

मेरोन्यूज २०८१ असार ६ गते १५:४१

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाल समाजवादी पार्टीकी नेत्री हिसिला यमीले दिगो विकासका लागि भौतिक पूर्वाधार निर्माणमा राजनीतिक नेतृत्वसँगै जनसहभागिता पनि आवश्यक रहेको बताएकी छिन् ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रिय समाचार समिति (रासस)द्वारा गणतन्त्र दिवस–२०८१ का अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको बुधबार अवलोकनपछि उनले भनिन्, “कुनै पनि क्षेत्रको दिगो विकासका लागि भौतिक या अन्य पूर्वाधारको निर्माणलाई स्थानीयतासँग जोड्नुपर्छ र यसमा जनताको अधिक सहभागिता हुनुपर्छ ।”

नेत्री यमीले भौतिक पूर्वाधारको निर्माणलाई स्थानीयको सहभागितासँग जोेडेर मात्र अघि बढाउनुपर्ने र सो पूर्वाधारको विकासमा हरेक नागरिकले अपनत्व ग्रहण गर्न सक्ने हुनुपर्ने आवश्यकता पनि औँल्याइन् ।

“विकासमात्र गरेर पुग्दैन यसलाई अपनत्वसहित तल्लोतहसम्म व्यक्तिको जनजीवन र सीपसँग जोडनुपर्छ । निर्यातसँग पनि जोडनुपर्छ । सबै प्याकेजमा हुनुपर्छ”, नेत्री यमीले भनिन् । उनले देशभरका विभिन्न स्थानमा सडक सञ्जाल पुगेको र सडक पुगेसँगै कतिपय जिल्लामा एकतर्फी रूपमा बाह्य आयात वृद्धि भएको अवस्था औँल्याउँदै सडक मार्गको विकास र विस्तारपछि बसाइँसराइ बढेको तर स्थानीय परम्परागत सीप र सामग्रीको विकास निर्यात हुन भने नसकेको भन्दै यसबारेमा पनि अब सोच्नुपर्ने धारणा राखिन् । उनले अधिकांश सडकमार्ग सुरक्षित एवं राम्ररी सवारी यात्रा गर्ने अवस्थामा नरहेकाले यसको स्तरोन्नति र विकासमा सम्बद्ध निकायको ध्यान पुग्नुपर्ने बताइन् ।

नेत्री यमीले सडक सञ्जाल विस्तारलाई स्थानीय उत्पादन र व्यापारसँग जोड्न सकिने सुझाव दिँदै भनिन्, “बृहत रूपमा हेर्दा केही भएको देखिन्छ । तर सुक्ष्म रूपले हेर्दा सेवा प्रावह पुगिरहेको छैन । सडक निर्माण र विस्तारमा मात्रै पनि सरकारले धेरै लगानी गरेको छ । जनताले के पाए ? हामीले सडक पुगेका ठाउँबाट के निर्यात गर्न सकेका छौँ ? ‘माइक्रो’ र ‘म्याक्रो’ दुवैको संयोजनबाट मात्र विकास हुनुपर्छ ।”

उनले पूर्वाधार निर्माणलाई आर्थिक व्यवहारिकतासँग पनि जोड्न सक्नुपर्ने बताइन् । देशभर पूर्वाधार निर्माण भएको र यसपछि पनि स्थानीय नागरिक यसबाट लाभान्वित हुन नसकिरहेकाले भौतिक पूर्वाधारलाई आर्थिक व्यवहारिकतासँग जोड्न आवश्यक रहेको उनको सुझाव थियो । यसका लागि आवश्यक वातावरण बनाउन राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

पूर्वमन्त्री यमीलाई राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले तस्बिर प्रदर्शनीमा राखिएका तस्बिरहरूबारे अवगत गराएको थियो । गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनी यही असार १० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया