वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित

कटारी (उदयपुर)।कटारी नगरपालिका–८ का किसानलाई दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि उनीहरु बैकल्पिक खेतीमा आकर्षित भएका छन् । मकै, कोदोबालीलाई जङ्गली पशुपक्षीले सखाप पारेपछि उनीहरु केराखेतीमा लागेका हुन् ।
केराखेतीबाट आम्दानी हुन थालेपछि आफूहरु व्यावसायिक रूपमै खेती गर्न थालेको किसान लाखबहादुर राई बताए । “चार सय जति केराको बोट लगाएको छु, यसबाट आम्दानी लिन थालको छु”, उनले भने, “गत वर्ष पनि झण्डै रु एक लाखको केरा बेचेँ यस वर्ष झनै केराखेती बढाएको छु ।”
भोटाङ्गे, मर्चे, जहाजी जातका केराखेती गरिरहेका किसानको मुख्यबजार पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ बनेको छ । “पहाडी जिल्लाका व्यापारी घरमै केरा लिन आउँछन् त्यसैले बजार लैजानुपर्ने झन्झट पनि हटेको छ ।” कटारी–८ ढापटारका किसान रत्नबहादुर विश्वकर्माले भने, “फलाएपछि भयो, व्यापारीले बारीबाट आफैँ केरा उठाउँछन् ।”
किसान साङ्दोेर्जे तामाङले मकै सखाप पार्ने दुम्सी, सुगा चराबाट आजित हुननपरेको बताए । स्थानीय किसानले थोरैमा प्रतिघर बर्सेनि रु ५० हजारदेखि दुई लाखसम्म केराबाटै आम्दानी लिने गरेका जनाइएको छ । पाखो झाडी सफा गरेर केराखेती सुरु गरेका किसानले यसैलाई पहिलो नगदे बालीका रूपमा मन पराउन थालेको कटारी –८ वडाध्यक्ष नवीन्द्र तामाङले बताए ।
नौ रोपनी जग्गामा केराखेती गरिरहेका ढापटारकै मोहन कोइरालाले व्यापारीले बारीमै प्रतिखापा रु ५० ले लैजाने गर्दा आम्दानी राम्रो भएको बताए । उनले भने, “अभैm गाउँगाउँसम्म जाने बाटो राम्रो छैन, त्यसैले मूलबाटोसम्म लैजाने बिचौलियाले यहीँको यहीँ रु ८० खापामा बेच्ने गरेका छन् ।”
वडाध्यक्ष तामाङका अनुसार वडाका हलेदे, मरुवाखानी, केराबारी, पटना, कवासे, गेरु, सिक्रे, ढापटार, वड्मी, माटे, खलङ्गेका गरी चार सय ५० हाराहारीका किसानले केराखेती गर्दै आइरहेका छन् । केराखेती फस्टाएपछि कृषि ज्ञान केन्द्रले पनि खेती प्रणालीसम्बन्धी तालिम किसानलाई दिइसकेको छ । तालिम लिएपछि झनै केराखेतीमा हौसिएका किसानले वडालाई केरा पकेट क्षेत्र बनाउन माग गरेका छन् । परम्परागत अन्नखेतीभन्दा केराबाट तेब्बर आम्दानी हुने गरेको किसान बताउँछन् ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया