बुधबार, चैत २५, २०८२

दुई दिने ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न

मेरोन्यूज २०८१ असार १३ गते १७:४५

जनकपुरधाम । मैथिली भाषामा निर्माण गरिएका फिल्महरुलाई लक्षित गर्दै पहिलोपटक जनकपुरधाममा दुई दिने ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना गरिएको छ । असार ११ र १२ गते जनकपुरस्थित गिरिजा हलमा चलेको महोत्सवलाई जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवले गर्दै मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा टेवा पुर्याउने बताए ।

‘मैथिली भाषामा फिल्म निर्माण हुनु गौरवको विषय हो । नवीनतम सोच भएका युवाहरूको उपस्थिती बढेसँगै आउँदो समयमा अन्य भाषा झैँ मैथिली फिल्मले फड्को मार्नेमा विश्वस्त छु । यो महोत्सवले मैथिली फिल्म बनाउन प्रेरित गर्नुका साथै मन्थन गर्ने अवसर दिएको छ’, मुख्यमन्त्री सिंहले भने ।

दुई दिन चलेको महोत्सवमा प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड (काठमाडौँ), चलचित्र विकास बोर्ड (काठमाडौँ) जोडिएको कार्यक्रममा सहभागी अभिनेता तथा निर्देशक् नीर शाहले विविधता बीचको एकतालाई मजबुत बनाउनुका साथै राष्ट्रिय एकतालाई बलियो बनाउन अन्तर संस्कृतिका विषय फिल्ममा आउनु पर्ने बताए ।

‘हामी कहाँ कथा कुनै कमि छैन । सांस्कृतिक विविधताले हामीलाई धेरै विषय दिएको छ । त्यसकारण हामीले त्यस्ता विषयसँग जोडिएको कथालाई अगाडि ल्याउन सक्नुपर्छ । त्यसैले हामी अन्तर सांस्कृतिक हुनुपर्छ’, अभिनेता शाहले भने ।

महोत्सवका निर्देशक रमेश रञ्जन झाले फेस्टिभलका कारण मिथिलाञ्चल क्षेत्रसँगै मैथिली भाषामा काम गरिरहेका प्रसिद्ध कलाकार, लेखक, गायक तथा निर्देशक एउटा प्लेटफर्मको निर्माण भएको बताए ।

‘मैथिली भाषाका फिल्म र फिल्मकर्मीलाई आफ्नो काम मुल्यांकन गर्ने र छलफल गर्ने एउटा प्लेटफर्म तयार भएको छ । मैथिली भाषालाई लक्षित गर्दै नेपाल मात्र नभई भारतमा समेत फिल्म फेस्टिभल भएका छैनन् । हामी यो भाषामा काम गरिरहेकालाई प्रोत्साहन गर्न चाहन्छौँ’, निर्देशक झाले भने ।

महोत्सवमा वृत्तचित्रतर्फ ‘गुमकी’ र ‘विदापत’ तथा लघुफिल्मतर्फ ‘अफवाह’ र ‘रक्त तिलक’, फिचर फिल्मतर्फ ‘ललका पागु’, ‘लोटस ब्लूम्सु’ ‘समानान्तर’ प्रदर्शन गरियो । यस्तै, महोत्सवमा ‘मैथिली सिनेमाक निर्माण आ व्यवसाय’, ‘निर्देशक सँ विमर्श’, ‘समकालीन परिदृश्य मे मैथिली सिनेमा’, ‘मैथिली सिनेमाक विविध स्वरूप आ सम्भावना’ शीर्षकमा अन्तरक्रिया गरिएको निर्देशक र महोत्सवका संयोजक पुर्णेन्दु के झाले जानकारी दिए ।

‘पहिलो संस्करण भएकाले हामीले प्रतिस्पर्धा राखेनौं । हामीले अहिले मैथिली भाषामा काम गरिरहेकालाई भेला गर्ने काम गर्यौं । आउँदो दिनमा यसको प्रभाव देखिने नै छ । साथै महोत्सवमा भएका अन्तरक्रियाले फिल्म निर्माण गर्न प्रेरित गरेको छ । मिथिला संस्कृति र भाषालाई संरक्षण गर्न फिल्मले खेल्ने भूमिकाको विषयमा चर्चा भएको छ’, निर्देशक झाले भने । महोत्सवलाई नेपोभिट टायल्सले सघाएको थियो ।

प्रतिक्रिया