अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध

खोटाङ । अविरल वर्षाले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । वर्षासँगै आएको भलबाढी तथा पहिरोका कच्ची अवस्थामा रहेका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् ।
ग्रामीण सडक अवरुद्ध भएपछि जिल्लाका स्थानीय तहहरु राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएका छन् । स्थानीय तहसँग जोडिएको सबै ग्रामीण सडक अहिलेसम्म कच्ची अवस्थामा रहेकाले समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।
जन्तेढुङ्गा, बाराहापोखरी र खोटेहाङ गाउँपालिकाको कच्ची सडक हिलाम्य भएपछि सञ्चालन हुन सकेको छैन । केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकालगायतका ग्रामीण क्षेत्रमा पनि झरीले बाटो हिलाम्य हुँदा यातायात सञ्चालन हुन नसकेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङको जानकारी दिए।
यसबाहेक सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक पनि अवरुद्ध छ । यसले जिल्लाबाट तराई जान र तराईबाट जिल्ला आउन समस्या भएको छ । जिल्लाका केही ठाउँमा पहिरो तथा रुखले ग्रामीण सडक अवरुद्ध गरे पनि स्थानीय र प्रहरीले खुुलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अवरुद्ध ग्रामीण सडक खुलाउने विषयमा स्थानीय तहहरुले पहल नगरेको यातायात व्यवसायीले आरोप लगाएका छन् ।
राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोममार्ग भने निरन्तर सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा झरेको पहिरो प्रभावित बनाएको छ ।
यसैबीच यही असार २० गतेदेखिको अविरल वर्षाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा एक घर भत्किएको छ । अविरल वर्षाकै कारण टेम्माको एक्लेबरस्थित जगबहादुर मगरको घर भत्किएको हो ।
पहिरो खस्दा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका अस्तजित राईको घर भत्किएको छ । पहिरोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल थर्पुका रमेश खड्काको घरमा क्षति पुगेको छ ।
बाढी तथा पहिरोबाट जोगिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरिरहेका छन् । मनसुनजन्य विपद् व्यवस्थापनका लागि जिल्लास्थित सबै संयन्त्र तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिएका छन् । जिल्लास्थित दशवटै स्थानीय तहले समेत विपद् व्यवस्थापनका लागि आ–आफ्नो क्षेत्रमा तयारी गरेको पाइएको छ ।
प्रहरीले गरेको सर्वेक्षणअनुसार दश स्थानीय तह रहेको जिल्लामा मनसुनजन्य विपद् बाढीबाट ८५ घरधुरीको तीन २० र पहिरोबाट चार सय ३९ घरधुरीको एक हजार सात सय ६१ जना मानिस उच्च जोखिममा रहेका छन् । मनसुन सुरु भएसँगै उच्च जोखिममा रहेका स्थानीय बासिन्दालाई मातहतका प्रहरी परिचालन गरेर सतर्कता अपनाउन आग्रह गरिएको प्रनाउ खड्काले जानकारी दिएका छन् ।
















महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
तामाकोशी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त
नेकपाको प्रतिबद्धता : ५ लाखलाई रोजगारी, १० प्रतिशत आर्थिक वृद्धि
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
प्रतिक्रिया