शुक्रबार, वैशाख १८, २०८३

किसानलाई अनुदानमा हाते ट्रयाक्टर

मेरोन्यूज २०८१ असार २९ गते २१:४५

नुवाकोट ।  किसानलाई यान्त्रिकीकरण तथा आधुनिकीरकणतर्फ आकर्षित गराउन तारकेश्वर गाउँपालिकाले अनुदानमा ट्रयाक्टर उपलब्ध गराएको छ । तोकिएको मापदण्डका आधारमा ८६ किसानलाई हाते ट्रयाक्टर प्रदान गरिएको अध्यक्ष शिव अधिकारीले जानकारी दिए।

Advertisement
NiccNicc

उनका अनुसार कृषि उत्पादन वृद्धि र किसानलाई पेसाप्रति आकर्षित गराउन पालिकाको नीति तथा कार्यक्रम र बजेटको स्रोतका आधारमा डिजेल र पेट्रोलबाट चल्ने हाते ट्रयाक्टर वितरण गरिएको हो ।

“पालिकाले कृषि क्षेत्रलाई दिएको प्राथमिकता र यान्त्रिकीकरण तथा आधुनिकीकरणको प्रयोगमा किसानलाई समावेश गराउन अनुदानमा कृषि सामग्री प्रदान गरिएको छ”, अध्यक्ष अधिकारीले भने, “पालिकाको सहयोगले युवालाई कृषिमा आबद्ध गराई कमभन्दा कम लागतमा कृषि उत्पादकत्व बढाउन निकै प्रभावकारी हुने विश्वास लिइएको छ ।”

किसानले अनुदानमा पाएका ट्रयाक्टरमध्ये पेट्रोल प्रयोग हुनेमा किसानको रु १५ हजार र डिजेल प्रयोग हुनेमा रु २३ हजार लगानी परेको छ । सोही बराबरको रकम पालिकाले ब्यहोरेको हो ।

‘कृषि यान्त्रिकीकरण तथा ५० प्रतिशत अनुदान कार्यक्रम’मा हातेट्रयाक्टर वितरणका लागि पालिकाले गत चैत ३० मा सात दिन र सो अवधिमा छुटेकालाई पुनः वैशाख १० मा पाँच दिनको समय दिएर जारी गरिएको थियो

सोही सूचनाका आधारमा प्राप्त मागमध्ये मापदण्ड पूरा भएका किसानलाई ट्रयाक्टर उपलब्ध गराएको हो । अध्यक्ष अधिकारीका अनुसार पालिकाले कृषिको स्रोत केन्द्र, उत्कृष्ट किसान सम्मान, आलुसहित विभिन्न खेतीबाली र तरकारीको पकेट कार्यक्रममा किसानलाई दिँदै आएको सहयोगका कार्यक्रमलाई नयाँ आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ ।

आगामी दिनमा यहाँको मौसम र माटो सुहाउँदो खेती गर्न प्राविधिकमार्फत माटो परीक्षण गराई सोहीअनुसार खेती लगाउन किसानलाई यसअघि कायम रहेका सहयोगलाई पनि आगामी वर्ष निरन्तरता दिन लागिएको उनले बताए।

प्रतिक्रिया