एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि गृहजिल्ला झापावासी हर्षित

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बनेपछि गृहजिल्ला झापावासी हर्षित भएका छन् । जिल्लामा विकास निर्माणलगायतका कामले थप गति लिने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रधानमन्त्री ओलीले विगतका कार्यकालमा जिल्लामा सुरू गरेका विकास निर्माणका योजनाले पूर्णता पाउनुका साथै आगामी दिनमा नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् ।
कन्काई नगरपालिका–४ का खगेन्द्र उप्रेती जिल्लावासी चौथोपटक देशको कार्यकारी नेतृत्वमा पुग्नु गौरवको कुरा भएको बताउछन् । प्रधानमन्त्री ओलीले विगतमा गरेका वाचा पूरा गर्न सकेमा झापावासीका लागि त्यही नै ठूलो उपहार हुने उप्रेतीको भनाइ छ ।
मेचीनगरका पर्यटन व्यवसायी चन्द्र कार्कीले ओली प्रधानमन्त्री भएसँगै झापाको पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा व्यक्त गरेका छन् । पर्यटकीयस्थल किच्चकबध, केचना, सतासीधाम, जमुनखाडी सिमसारलगायतका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने खालका ठूला योजना आउनेमा आफूहरू आशावादी भएको उनले बताए । साथै पर्यटकलाई काँकरभिट्टा नाका हुँदै तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्न केही वर्षदेखि लगाइएको रोक हटाउन सकेमा यस क्षेत्रको विकास ठूलो टेवा पुग्ने र यसमा प्रधानमन्त्री ओलीले पहल गर्ने यहाँका सबै व्यवसायीले अपेक्षा गरेको कार्कीले सुनाए ।
भद्रपुर नगरपालिका–१० का मेघराज राजवंशीले प्रधानमन्त्री ओलीको नेतृत्वमा जिल्लाका रणनीतिक सडक निर्माण सम्पन्न गर्न सहज हुने आशा जागेको बताए । सडक डिभिजन दमकका सूचना अधिकारी इञ्जिनीयर गौतमकुमार देवले बजेट अभावले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका रणनीतिक सडक अधुरा रहेका र सबै क्षेत्रमा रु नौ करोड बजेट अभाव रहेको जानकारी दिए ।
झापा गाउँपालिका वडा नं २ का अध्यक्ष हिमालकुमार चम्लागाईंका अनुसार वर्षाको समयमा कन्काइ, बिरिङ, मेची, रतुवा जस्ता ठूला नदीले जिल्लाको दक्षिणी क्षेत्र डुबान भई गाउँबस्ती नै विस्थापित हुने अवस्था छ । उनले जिल्लावासी नै देशको नेतृत्वमा पुगेसँगै डुबान रोक्न नदी किनारमा स्थायी तटबन्ध निर्माण हुने आशा व्यक्त गरे ।
















लेक लागेर सगरमाथा आरोहीको निधन
आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
दार्चुलामा गयाे भूकम्प
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
प्रतिक्रिया