शुक्रबार, चैत २०, २०८२

पर्वतमा दुई सय ३६ उद्योग बन्द

मेरोन्यूज २०८१ साउन १२ गते १०:२९

पर्वत। कोरोना संक्रमणपछि देखिएको आर्थिक मन्दीको प्रभाव पर्वतका उद्योग व्यवसायमा पनि परेको छ। पर्वतमा गत आर्थिक वर्षमा दर्ता भएका उद्योग व्यवसकायको तुलनामा बन्द हुने उद्योग व्यवसायको संख्या बढेको छ।

Advertisement
nepal life insurencenepal life insurence

गत आर्थिक वर्ष २०८०/८१ मा पर्वतमा एक सय ९५ उद्योग, व्यवसाय फार्म दर्ता भएकामा दुई सय ३६ वटा बन्द भएका छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार गत आवमा ९४ उद्योग दर्ता भएकामा एक सय सात खारेज भएका छन् । एक सय एक वाणिज्य फार्म दर्ता भएकामा एक सय २९ फार्म खारेज भएको कार्यालय प्रमुख अशोककुमार नेपालीले जानकारी दिए।

पर्वतमा आर्थिक वर्ष २०७९/८० सम्म तीन हजार चार सय २६ उद्योग र तीन हजार दुई सय ७५ वाणिज्य फार्म रहेकामा आव २०८०/८१ को अन्त्यमा घटेर तीन हजार चार सय १३ उद्योग र तीन हजार दुई सय ४७ वाणिज्य फार्म कायम रहेको कार्यालय प्रमुख नेपालीले बताए। एकै वर्षमा ४७ उद्योग बन्द भएका छन् ।

आर्थिक मन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातीत वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग बन्द हुने क्रम बढेको छ । उद्योग व्यवसाय छाडेर विदेश जान थालेपछि बजार क्षेत्रका २० प्रतिशत सटर खाली भएको उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष ठाकुरवि पौडेलले बताए। व्यापार व्यावसायमा परेको मन्दीले उद्योगी, व्यवसायी पलायन हुनेक्रम बढेको उनको भनाइ छ।
लाखौँ रुपैयाँ लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गरे पनि पर्याप्त आम्दानी हुन नसकेपछि व्यवसायी विस्थापित हुनुपरेको छ । कोरोना सङ्क्रमणपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुने क्रम उल्लेख्य मात्रामा रहेको कार्यालयले जनाएको छ ।

कोरोना सङ्क्रमणपछि देखिएको चौतर्फी आर्थिक मन्दीको प्रभाव उद्योग व्यवसायमा परेको हो ।

पर्वतमा अघिल्लो आर्थिक वर्षमा ९२ उद्योग खारेज भएका थिए । दुई ७४ वटा उद्योग तथा व्यवसाय दर्ता भएकामा ९२ खारेज भएका थिए। कार्यालय प्रमुख नेपालीका अनुसार कृषि, पशुपक्षी फार्म, फलफूलखेती, गाईपालन, भैँसीपालन, व्यावसायिक बाख्रापालनलगायत घरेलु उत्पादनका उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको पाइन्छ ।

वैदेशिक रोजगारीमा जाने विद्यार्थीका लागि स्वदेशमै उद्यम गरेको प्रमाण देखाउनुपर्ने भएकाले पनि उद्योग दर्ता बढेको उनले बताए। वाणिज्य फार्मतर्फ दर्ताको सङ्ख्यासँगै फार्म बन्द हुने सङ्ख्या पनि बढेको छ ।
पर्यटन तथा उद्योग कार्यालयले आव २०८०/८१ मा ९७ दशमलव ७७ प्रतिशत प्रगति हासिल गरेको छ । पर्वतमा गत आर्थिक वर्षमा ५५ पर्यटन पूर्वाधार निर्माण भएका छन् भने ६९ जनालाई सीप विकास तालिम प्रदान गरिएको छ । त्यसैगरी कार्यालयले २२ उद्योगलाई प्रविधि हस्तान्तरण गरेको छ । आव २०८०/८१ मा कार्यालयले रु २२ लाख ५१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।

प्रतिक्रिया