सोमबार, वैशाख ८, २०८२

‘अपाङ्गता भएकाहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्रभावकारी हुनुपर्छ’

मेरोन्यूज २०८१ साउन १४ गते १६:३५

काठमाडौँ। अपाङ्गता भएका व्यक्तिका लागि प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी सचेतनात्मक कार्यक्रमले यस क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ । परिवार नियोजन सङ्घले सन् २०१९ देखि अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित गरी प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी सचेतनात्मक कार्यक्रमका विविध प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई नै पियर एजुकेटर (साथी शिक्षक)को तालिम दिएर समुदायमा जानका लागि प्रेरित गरेपछि अपाङ्गता क्षेत्रमा परिवर्तन देखिन थालेको हो ।

अपांगता भएका व्यक्तिहरूलाई पनि अरु मानिसहरु जस्तै आफ्नो शरीर, यौन सम्बन्ध, यौनिकता र यौन स्वास्थ्यका बारेमा जानकारी प्राप्त गर्ने र आवश्यकता अनुसार गुणस्तरीय सेवा लिन पाउने अधिकार नीतिगत तथा कानुनी रुपमा सुरक्षित छ।

अपांगता भएका र नभएका मानिसहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सेवाको आवश्यकता उस्तै भए पनि अपांगता भएका मानिसहरुमा सेवाको पहुँच तथा उपयोग कम हुने गरेको छ।

परिवारले अपांगता भएका व्यक्तिहरुलाई पनि अपांगता नभएका व्यक्तिहरु जस्तै सम्मान तथा आदर भावले हेर्नुपर्दछ। अपांगता भएका व्यक्तिहरुको पनि अपांगता नभएका व्यक्तिहरु जस्तै यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी आवश्यकता र अधिकार हुन्छ तर प्राय : जसो उनीहरुले आफ्नो आवश्यकता अनुसार यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना तथा सेवा पाईराखेका छैनन्। अपांगता भएका व्यक्तिहरु तुलनात्मक रुपमा अन्य सेवाग्राहीहरु भन्दा यौन हिंसाको समेत जोखिममा पर्ने गरेका जनाइएको छ ।

समाजमा यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अझै पनि खुला बहस र छलफल हुन सकेको छैन । यो एउटा गोप्य राख्नुपर्ने विषयको रुपमा हेरिन्छ । यो सवाल आम महिलामा त सहज बन्न सकेको छैन भने अपांगता भएकाहरुमा स्थान पाउन पक्कै सहज छैन । अपांगता भएकाहरुप्रति हेर्ने दृष्टिकोण केही बदलिए पनि उनीहरूलाई यौन प्राणीको रूपमा उदार तरिकाले हेर्न सकेको पाइँदैन ।

नेपाल परिवार नियोजन सङ्घका शाखा प्रबन्धक शरद अर्यालले सङ्घका गतिविधि, लक्ष्यबारे जानकारी दिँदै सङ्घमार्फत अपाङ्गतामैत्री सेवा प्रवाह भइरहेको जानकारी दिए । उनले गत वर्ष चार हजार तीन सय नौ जना अपाङ्गता भएका व्यक्तिले स्वास्थ्य सेवा लिएको बताएका छन् ।

प्रबन्धक अर्यालले अपांगता भएका किशोरी महिला निरन्तर यौन हिंसाको सिकार भएका छन् यस अवस्था बलात्कार र अनइच्छित गर्भाधान रोक्न घरपरिवारले परामर्शविना नै गर्भनिरोधक साधनहरू लगाइदिने, पाठेघर फालिदिने वा जबरजस्ती बन्ध्याकरण गरिदिने जस्ता कार्य गर्न बाध्य भएका छन्, यसले समाधान भन्दा पनि गलत कृयाकलाप बढ्ने अपांगता भएका व्यक्ति माथि हिंसा गर्न बल पुग्न जान्छ यो तर्फ पनि गम्भिर भएर सोच्नुपर्ने बताए ।

यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको अवस्थासम्बन्धी अनुसन्धान विज्ञ एवम् प्राध्यापक अनुप अधिकारीले नेपालमा अपाङ्गता भएका व्यक्तिसम्बन्धी तर्जुमा गरिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले अपाङ्गता भएका व्यक्तिको विविध अधिकारसहित यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको प्रत्याभूति गरे पनि व्यवहारमा लागू हुन नसकेको बताए ।

पियर एजुकेटरका रूपमा बुढानीलकण्ठ नगरपालिकामा काम गरिरहेकी अम्बिका कुइँकेलका अनुसार, “विगतमा अपाङ्गता भएका व्यक्तिका लागि विवाह गर्नु, शिशु जन्माउने प्रक्रियाकै आवश्यकता नपर्ने भन्ने सोचले अपाङ्गता भएका व्यक्तिलाई बेवास्ता गर्ने प्रचलन रहेकोमा आफूले पियर एजुकेटरको रूपमा काम गरेपछि यस क्षेत्रका धेरै व्यक्तिले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या भन्ने गरेका छन् ।”

उनले अपाङ्गता भएका सबै व्यक्तिलाई अन्य व्यक्ति सरह सबै चाहनाको साथै यौन चाहना हुनु, नपाएपछि र परिवारका सदस्यलाई खुलेर भन्न नसकेपछि उनीहरूले यौन रोग वा विविध समस्याको सामना गर्नुपरेको थियो भने पियर एजुकेटरहरुले सल्लाह र परिवार नियोजनको साधन प्रयोग गर्न सुझाव दिँदै त्यसबारे बुझाउन थालेपछि आफ्नो समस्या खुलेर भन्ने र आवश्यक स्वास्थ्य उपचारका लागि अस्पताललगायत स्वास्थ्य संस्थामा जान थालेको बताएकी छन् ।

उनीहरूको सहयोगीको भूमिकामा काम गर्नुहुने परिवारका सदस्यलाई महिनावारी स्वच्छताको बारेमा सिकाउने, अपाङ्गता भएका व्यक्तिलाई पनि प्रेम गर्न, विवाह गर्न र सन्तान जन्माउने चाहना हुन्छ, त्यसबाट उनीहरूलाई वञ्चित नगरी परिवार नियोजनका साधन सहयोग गर्न सिकाएपछि यस क्षेत्रका व्यक्तिहरू लाभान्वित भएका छन् ।”

उनले नेपाल परिवार नियोजन सङ्घ नै आर्थिक समस्यामा पर्ने खतरा बढेकाले सरकारले नै सङ्घले गरिरहेको स्वास्थ्यसम्बन्धी गतिविधिलाई अगाडि बढाउनुपर्ने सुझाव दिँदै त्यसो नगरी आर्थिक कारणले सङ्घले काम गर्न नसके अपाङ्गता भएका व्यक्तिहरू, सीमान्तकृत वर्ग र आर्थिकरुपमा विपन्न वर्गले नै स्वास्थ्य सेवा नपाउने बताइन् ।

प्रतिक्रिया