शुक्रबार, वैशाख २५, २०८३

मन्त्रीस्तरीय बिमस्टेक सम्मेलनमा भाग लिन मन्त्री भण्डारी भारत प्रस्थान

मेरोन्यूज २०८१ साउन २२ गते १५:००

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गरेका छन् । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले विदेश मन्त्रालयसँगको सहकार्यमा आजदेखि आयोजना गरेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) व्यापार शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ।

Advertisement
NiccNicc

सम्मेलनका क्रममा नेपालका तर्फबाट बिमस्टेकबाट नेपालको व्यापार–व्यवसाय प्रवर्द्धनमा लिन सकिने फाइदा र भारतसँगको व्यावसायिक हितका विषयमा छलफल गरिने मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ । सम्मेलनमा मन्त्री भण्डारीको उपस्थितिले नेपालका लागि दक्षिण एसिसाली र पूर्वी एसियाली क्षेत्रीय सौविध्यपूर्ण बजार पहुँच अभिवृद्धि, नेपालको स्तरोन्नतिपश्चात् नेपालले बजार पहुँच सुविधा गुमाउने सन्दर्भमा नयाँ क्षेत्रीय बजारमा सौविध्यपूर्ण बजार पहुँच प्राप्त हुने र नोक्सानी न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाली वस्तु निर्यातका लागि बजार वृद्धि हुने, क्षेत्रीय मूल्य शृंखलामा आबद्धता अभिवृद्धि हुन सक्ने, व्यापार सहजीकरण भन्सार सहयोग र व्यापार तथा ‘लजिटिक्स’ लागत न्यूनीकरण हुन सक्ने, क्षेत्रीय लगानी आप्रवाह बढ्न सक्ने, पर्यटन आप्रवाहमा वृद्धि हुन सक्ने, सूचना प्रविधि सेवालगायतका सेवा निर्यात अभिवृद्धि हुन सक्ने नेपालका तर्फबाट अपेक्षा गरिएको छ ।

प्रतिक्रिया