उमेरले विद्यालय जान छेकेन : छोरालाई एमबिबिएस पढाएपछि ५१ वर्षमा ९ कक्षामा भर्ना भएका नवीन

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुगे।
दुई छोरा र एक छोरीलाई हुकाई सकेका नवीनको अब छोराछोरीको कमाई खाएर परिवारसँग रमाएर बस्ने उमेर पनि नभएको होइन। पढ्ने उमेरमा घरायसी समस्याका कारण विद्यालय शिक्षा पूरा गर्न नसकेका उनलाई यतिबेला फेरि पढ्ने रहर जागेपछि परिवारिक सुखसयल समेत छोडेर विद्यालय भर्ना भएका छन्। पढ्ने इच्छा पूरा गर्न चालु शैक्षिक सत्रदेखि घर छोडेर गोरखा नगरपालिका–६, स्थित शक्ति माध्यमिक विद्यालयमा कक्षा ९ भर्ना भएका नविन विद्यालयमै बस्ने व्यवस्था मिलाएर पढ्न थालेका छन्।
‘अहिले म मेरा छोराछोरीका साथी सरहका शिक्षकसँग पढिरहेको छु,’ उनले भने, ‘शिक्षक तथा साथीभाइको सहयोगले पढ्नका लागि निकै सहज भएको पनि छ।’
सानैदेखि पढ्नमा लगनशील भए पनि उमेरमा पढ्न र लेख्न नपाएकामा अहिले पनि बेलाबेलामा उनलाई दुःख लाग्ने गरेको छ।
बुढेसकालमा पढ्न थालेको देख्दा कतिपयले आफ्नो कुरा समेत काट्ने गरेको नवीनले बताए। तर कसैको कुराको कुनै प्रवाह नगरी आफ्नो लक्ष्य हासिल गर्नका लागि आफूले पढाइमा ध्यान दिने गरेको उनको भनाइ छ।
‘जसले जे–जे भने पनि मलाई पढेर चिकित्सक बनेर सबैको सेवा गर्ने ठूलो धोको छ,’ उनले भने, ‘अनुशासित भएर पढ्छु र राम्रोसँग एसइई पास गरेर प्लस टूमा साइन्स र सकेदेखि ब्याचलरमा एमबिबिएस पढ्छु भन्ने लागेको छ।’
विसं २०५३ सालमा एसएलसीमा फेल भएपछि पढाइ छोडेका नवीनले करिब २९ वर्षपछि फेरि विद्यालयमा पढ्न थालेका हुन्।
कक्षा १२ सम्म पढ्न विद्यालयले खर्च नलाग्ने भनेकाले आफूलाई थप उत्साहित बनाएको उनको भनाइ छ।
‘गएको वैशाखदेखि विद्यालयमा भर्ना भएर पढ्न थालेको हो, नवीनले भने, ‘बस्नका लागि विद्यालयले नै एउटा कोठा दिएको छ, खानका लागि चामल, नुन, तेल, तरकारी पनि सहयोग जुट्ने गरेको छ सजिलो भइरहेको छ।’
कक्षामा पहिलो दिन आफ्ना छोराछोरीको उमेरका नानीबाबुसँग पढ्न अलिअलि लाज र डर नलागेको पनि होइन तर बिस्तारै संगत गर्दै जान थालेपछि अहिले निकै सहज भएको उनी भन्छन्।
‘नियमित रुपमा पढेर पास गर्न सके भने ६२ वर्षमा त एमबिबिएस पूरा गर्छु,’ उनले भने, ‘त्यतिबेला मेरो जागिर खाने अवस्था त हुँदैन तर गाउँघरमा एक्लै बसेका बूढाबूढीको सेवा गर्ने धोको छ।’
उनलाई कहिलेकाहीँ बेलैमा पढ्न सकेको भए राम्रो जागिर खान सकिने रहेछ भन्ने पनि लाग्ने गर्छ।
‘मेरो जेठो छोरो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढ्दैछ,’ उनले भने, ‘इच्छाशक्ति भए नहुने भन्ने हुँदैन भन्ने लागेर फेरि पनि पढ्न थालेको हुँ।’
विद्यालय र कक्षाकोठामा सहपाठीले अंकल दाइ, बाजे भनेर सम्बोधन गर्दा खुसी लाग्ने गरेको नवीन बताउँछन्।
घर छोडेर सदरमुकाममा बसेर पढ्न थालेपछि नवीनकी श्रीमती छोरी लिएर माइत बस्न थालेकी छन्।
विद्यालयमा अन्य विद्यार्थीको जस्तो नभए पनि नवीन आफूले नजानेको कुरा तत्कालै शिक्षक तथा सहपाठीहरूसँग सोध्ने र सिक्ने बानी रहेको विद्यालयका प्रधानाध्यापक बद्री अर्यालले बताए।
‘विद्यार्थीका रुपमा नवीनको उपस्थितिले अरूलाई पनि प्रोत्साहन मिलेको छ,’ प्रधानाध्यापक आर्चायले भने, ‘उहाँले देखाउनुभएको अनुशासन र लगनशीलताका कारण शिक्षक तथा विद्यार्थीहरु सबै प्रभावित भएका छौं।’
कहिलेकाहीँ शिक्षक, कर्मचारीले पैसा उठाएर समेत नवीनलाई पढ्न तथा खानका लागि सरसामान किनिदिने गरेको उनले बताए।
















अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया