बाँदर आतङ्कले आजित बागलुङका किसान

ढोरपाटन। एक दशक अगाडि बागलुङका ग्रामीण क्षेत्रमा बाक्लो बस्ती थियो । स्थानीयले बारीभरि मकै, कोदो र गहुँ उत्पादन गर्थे तर पछिल्लो समय यहाँ बस्ती सुनसान छन् । यहाँ बसाइँसराइ गर्ने क्रम बढ्दो छ । गाउँमा भएका कोही युवा विदेश त कोही शहर छिरिसकेका छन् । अहिले यहाँ अधिकांश बूढापाका मात्रै छन् ।
‘उब्जाउने जमिन त छ तर बाँदरले गरिखान दिँदैनन् । जेनतेन खेतीपाती गरे पनि भित्र्याउन पाइँदैन, बाँदरले बारीमै नष्ट गरिसक्छन्’, जैमिनी नगरपालिका–४ की मायादेवी पौडेल भन्छिन्, ‘खानैका लागि बजारको अन्नमा भरपर्नु परेपछि यहाँ बसेर के गर्नु, भनेर धेरैले यहाँबाट बसाइँ सर्दैछन् ।’ उनले गाउँमा रहेका केही किसान पनि जीविकोपार्जनका लागि गरिएका बालीनाली बाँदरले नष्ट गरिदिने समस्याले आजित भएका बताइन् । बाँदर आतङ्ककै कारण धेरैले बसाइँ सरिसकेका र बाँकी रहेकाहरू पनि बसाइँसराइ गर्न बाध्य भएको उनको भनाइ छ ।
एक दशकअघिसम्म गाउँमा देखा नपरेको बाँदर अहिले हुलका हुल बारीमा आउँछन्, तरकारीदेखि खाद्य बाली केही नराखी नष्ट गरिदिन्छन् । जसले गर्दा गाउँका किसान आजित भएका हुन् । जिल्लामा बसाइँसराइ गरी बजार झर्ने र विदेश जानेमध्ये गलकोट र जैमिनी नगरपालिका तथा काठेखोला गाउँपालिकामा बढी छन् । युवा विदेशीने र गाउँमा बूढापाका मात्रै भएकाले घर छेऊकै खेतबारी झाडीमा परिणत भएका छन् । जसका कारण बाँदरलगायत वन्यजन्तु सजिलै घरमा छिर्ने गरेका स्थानीयले बताएका छन् ।
बाँदरले करेसाबारीमा लगाएका बाली मात्रै होइन घरको बार्दलीमा झुण्ड्याएर राखिएका सामानसमेत नष्ट गरिदिने कृषक पौडेलले बताइन् । ‘यसपटक पनि बारीमा लगाइएको मकैले घोगा हाल्न थालेसँगै बाँदरले बोट नै सखाप पारिसक्यो । बँचेका बाली जोगाउन एकजना कुरुवा भएर दिनभर खटिनुपर्ने बाध्यता छ’, उनले भनिन्, ‘पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, पाँच–सात सयको हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्नँ ।’
काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेल बाँदरले उठिबास लाउने अवस्था आएको गुनासो गर्छन् । ‘बाँदरले बारीमा लगाएको केही पनि बाँकी राख्दैनन्, एउटा बारीको मकै १० मिनेटमै सोत्तर बनाइदिन्छ, हामीलाई त बाँदरले उठिबास लगाउने भयो, बाँदर धपाउने अनेक उपाय अपनाइयो तर केही लागेन, कहिले त घरभित्रै आएर सबै सामान नष्ट गरिदिन्छ’, उनले भने ।
पहिले केही आवाज आउने वस्तु बजाउँदा भाग्ने बाँदर अचेल उल्टै मान्छेलाई नै आक्रमण गर्न आउने कारणले थप समस्या भएको कँडेल बताउँछन् । उनी भन्छन्, ‘पहिले भाग्ने गरेको बाँदर सचेत निकै चलाख र बाठो हुँदै गएको छ । आवाज मात्रै होइन मान्छे नै खटिए पनि टेर्दैनन्, उल्टै आक्रमण गर्न आउँछन् । अब सरकारले नै समस्या समाधानका लागि पहल नगर्ने हो भने बाँकी रहेकाहरू पनि गाउँ छाडेर जान बाध्य हुने अवस्था आउँदैछ ।’
















FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया