आइतबार, चैत १५, २०८२

स्वर्ण पदक विजेता धादिङका दुई कराते खेलाडीलाई नगदसहित सम्मान

मेरोन्यूज २०८१ साउन २७ गते २१:०३

धादिङ। करातेमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल धादिङकी समीक्षा ढुंगाना र एरिका गुरुङलाई नगदसहित सम्मान गरिएको छ। नीलकण्ठ नगरपालिकाले उनीहरूलाई नगद रु ५०/५० हजारसहित सम्मान गरेको हो।

Advertisement
nepal life insurencenepal life insurence

गत २० जुलाईमा भुटानमा सम्पन्न आठौँ दक्षिण एसियाली (साफ) कराते प्रतियोगितामा समीक्षाले नेपाललाई स्वर्ण पदक दिलाएका थिए। नेपालको प्रतिनिधित्व गर्दै समीक्षाले ५३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन्।

यस्तै, २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्सासमा भएको युएस ओपन च्याम्पियनसीप कराते प्रतियोगितामा एरिकाले स्वर्ण पदक दिलाएकी थिइन्। उहाँले ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन्।

सम्मान ग्रहण गर्दै ढुंगानाले नीलकण्ठ नगरपालिकाको सम्मानले खेल क्षेत्रमा अघि बढ्न थप हौसला मिलेको बताइन्। “परिवार, साथीसङ्गी र गुरूहरूलगायत सबैको साथ सहयोगले मिलेको सफलताको खुसी बाड्न पाउँदा हर्षित छु । सम्मान र सफलतासँगै जिम्मेवारी पनि थपिएको छ । खेल क्षेत्रमा अझै नेपाललाई थप सफलता दिलाउने मेरो सपना छ”, उनले भनिन्।

देशको शीर उचो बनाएका दुवै खेलाडीलाई प्रोत्साहनका लागि सम्मान गरिएको नगरप्रमुख भीमप्रसाद ढुंगानाले बताए। “दुवै जना खेलाडीले देशविदेशमा नेपालको नाम उच्चो बनाएका छन् । उहाँहरूको हौसला बढाउन प्रोत्साहन स्वरूप यो सम्मान गरेका हौँ’’, उनले भने।

नगरउपप्रमुख दीपक विश्वकर्माले खेल र खेलाडीको हितमा नगरपालिकाले काम गरिरहेको बताए। “धादिङकी यी दुई चेलीले नेपाललाई स्वर्ण दिलाउनु सामान्य कुरा होइन, त्यसैले उहाँहरूको योगदानको सम्मान गर्नुपर्छ । साथै खेल क्षेत्रमा लगानी र प्रोत्साहन आवश्यक छ भन्ने ध्येयले विकास निर्माण जस्तै खेल क्षेत्रमा पनि नगरपालिकालाई अब्बल बनाउँछौँ ।”,उनले भने।

प्रतिक्रिया