सुशासन, सामाजिक न्याय र समुन्नति सरकारको मुख्य प्राथमिकतामा : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन, सामाजिक न्याय र समुन्नतिलाई सरकारले मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताएका छन् । कोशी प्रदेश सरकारको नेतृत्व गर्नुभएको १०० दिन आज पूरा गर्नुभएका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलमा पत्रकारसँगको साक्षात्कार कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धि, अर्थतन्त्रको सवलीकरण, सेवा प्रवाहको नतिजामुखी कार्यसम्पादन र जवाफदेहिता, सामाजिक सुरक्षा र रोजगारी प्रवद्र्धन, सुशासनको प्रत्याभूति तथा समग्र प्रदेशको हितलाई संस्थागत गर्ने हेतुले प्रदेश सरकारले आफ्ना कार्यक्रम अगाडि बढाएको चर्चा गर्दै अहिलेको सरकार स्थिरता दिने र आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने अवस्थामा पुगेको कुरामा जोड दिए ।
उनले प्रदेशलाई आमनागरिकहरुले देख्नु, छुन र अनुभूति गर्नसक्ने संरचनाका रुपमा विकास गर्ने पर्ने दायित्व यो सरकारको काँधमा छ भन्दै उनले भने, “प्रदेश सरकारले जनतामा आशाको दियो जगाउने प्रयत्न गरेको छ ।”
मुख्यमन्त्री कार्कीले भने, “गुणस्तरीय सेवा प्रवाह, जनआकाङ्क्षाको सम्बोधन, पूर्वाधार विकासमा तीव्रता, सामाजिक रुपान्तरणका लागि दीर्घकालीन नीतिनिर्माण र कार्यान्वयन, पर्यटन प्रवद्र्धन र पर्यावरण संरक्षण गर्दै समाजिक, आर्थिक र सांस्कृतिक समृद्धिका साथ प्रदेशको दिगो विकास गर्ने अभियानमा प्रदेश सरकार अग्रसर रहको छ ।”
उनले प्रदेश सरकारले थोरै समयमा सडक सुशासन कायम गर्न विभिन्न ठाउँमा ट्राफिक लाइट जडान, जोगबनीदेखि उत्तर चीनसँग जोडिने किमाथाङ्का सडकको नाका सञ्चालन, प्रदेशमा छ वटा पशु कार्यालय स्थापना, आगामी पुसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने तयारी, सुनसरीको सर्दुखोला पुलको उद्घाटन काम सम्पन्न गरेको छ ।
जनताका शान्तिसुरक्षा कायम गर्न विभिन्न स्थानमा अस्थायी प्रहरीचौकी स्थापना गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले तेह्रथुम सदरमुकाम जोड्ने प्रदेश सरकारको रु ९० करोड लगानी शुक्रबारे–सिधुवा सडकको उद्घाटन पनि प्रदेशको महत्वपूर्ण उपलब्धि हो भने।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी कार्यक्रम सुरु गर्न प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशका पाँच वटा पालिकामा रु तीन करोड ७५ लाख लगानीमा झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको एैँसेलुखर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा कार्यक्रम सञ्चालन हुने सम्झौता पनि भइसकेको जानकारी दिँदै प्रदेश सरकारको लगानीमा सुनसरी र धनकुटाको बीचमा रहको पर्यटकीयस्थल भेडेटारमा स्काई वाक निर्माण सम्पन्नगरी सञ्चालनमा आएको बताए ।
उनले मुख्यमन्त्री कार्यालयमा गुनसो सुनवाइ कक्ष निर्माण, सुशासनका निम्ति प्रशासकीय सुधार कार्यक्रम र दिगो विकासका निम्ति मन्त्रालयका सबै सचिवहरुलाई पटकपटक निर्देशन भइरहेको जानकारी दिँदै प्रदेश सरकारको सय दिनको अवधिमा ६० वटा महत्वपूर्ण काम गरेको र जसबाट प्रदेशवासी लाभान्वित भएको जानकारी दिए ।
सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, सामाजिक विकासमन्त्री पाँचकर्ण राईलगायत विभिन्न मन्त्रालयका सचिव, उच्चपदस्थ अधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।













कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
Around 300,000 foreign tourists visit Annapurna area in 2025
Slight rise in gold and silver price
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया