बुधबार, वैशाख १६, २०८३

सरकारले निराशालाई आशामा बदल्नुपर्छ : महासचिव पोखरेल

मेरोन्यूज २०८१ साउन ३२ गते १६:२३

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारले जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताएका छन्। ललितपुर, च्यालसस्थित एमाले पार्टी कार्यालयमा आज एमाले सामाजिक सेवा विभागको १०औँ बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको बिग्रँदै गएको परिस्थिति सम्हाल्नका लागि एमाले र नेपाली कांग्रेस पार्टी मिलेर सरकार गठन गर्ने अवस्था आएको हो भने ।

Advertisement
NiccNicc

उनले देशमा अस्थिरता सिर्जना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको अवधारणा (मोडेल)मा पनि ध्यान दिनुपर्ने बताए ।

उनले जनभावना के कुरासँग गाँसिएको छ भन्ने कुरामा पनि सरकारले ध्यान दिनुपर्ने र समाजमा के मुद्दाले असर गरिरहेको छ भन्ने बुझ्नुपर्छ भने । “बङ्गलादेश दक्षिण एसियामै नमुना आर्थिक विकास भइरहेको देश हो तर त्यहाँ आरक्षणको मुद्दालाई समयमै जनभावनाबमोजिम सम्बोधन हुन नसक्दाको परिणाम बङ्गलादेश अहिले अस्थिरता र अन्योलको अवस्थामा पुगेको छ”, उनले भने । उनले समग्र सामाजिक क्षेत्रमा प्रभावकारी नेतृत्व गर्ने योजना बनाउन पनि विभागलाई सुझाव दिए । एमालेका उपाध्यक्ष तथा सामाजिक विकास सम्बद्ध विभाग संयोजक अष्टलक्ष्मी शाक्यले समाजमा देखिएका समस्या समाधान गर्न एमाले अग्रसर हुनुपर्ने धारणा राखे ।

सो अवसरमा निवर्तमान विभाग प्रमुख झपट बोहोराको बिदाइ र विभाग प्रमुखमा नयाँ जिम्मेवारी सम्हालेका कल्पना चापागाईंलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया