शुक्रबार, वैशाख २५, २०८३

युक्रेनी ड्रोन आक्रमणबाट दक्षिण रुसमा इन्धन भण्डारमा आगलागी

मेरोन्यूज २०८१ भदौ २ गते १७:४६

काठमाडाैँ । युक्रेनी ड्रोन आक्रमणबाट आइतबार बिहान रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा एक तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ ।

Advertisement
NiccNicc

सामाजिक सञ्जालमा प्रकाशित भिडियोमा आगो लागेपछि प्रोलेटार्स्क सहरमा बाक्लो कालो धुवाँ र आगोको मुस्लो निस्किएको स्थानीय गभर्नरले बताएका छन् ।

े“रोस्तोभ क्षेत्रको दक्षिणपूर्वमा हवाई सुरक्षाले एउटा ड्रोन आक्रमणलाई विफल बनाएको छ, प्रोलेटार्स्कमा औद्योगिक भण्डार केन्द्रहरूको क्षेत्रमा ड्रोन खसेपछि डिजेल इन्धनमा आगो लाग्यो”, गभर्नर भासिली गेलबेभले टेलिग्राममा भने, “स्थानीय समयानुसार बिहान पाँच बजेर ३५ मिनेनमा अर्को ड्रोन आक्रमणका कारण प्रोलेटार्स्कमा औद्योगिक सुविधामा अग्नि नियन्त्रण निलम्बित गरिएको थियो ।”

पछि उनले आक्रमणमा कोही पनि घाइते नभएको र आगो निभाउने प्रयास केही बेरपछि पुनः सुरु भएको बताए ।

प्रोलेटार्स्क युक्रेनी सीमाबाट करिब दुई सय ५० किलोमिटर र युक्रेनी सीमामा लडिरहेका किएभको नियन्त्रणमा रहेको क्षेत्रबाट करिब तीन सय ५० किलोमिटर टाढा छ ।

रुसी रक्षा मन्त्रालयले रातभरमा ‘विमान–प्रकार’ का पाँच युक्रेनी ड्रोनलाई खसाएको बताएको छ । ती ड्रोनमध्ये दुई वटा रोस्तोभ क्षेत्रमा थिए ।

सन् २०२२ मा द्वन्द्व सुरु भएयता किएभले आफ्नो सीमाहरूबाट करिब सयौँ किलोमिटर टाढा रुसमा तेल र ग्यास सुविधाहरूमा बारम्बार निशाना बनाएको छ । यसलाई युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा आक्रमणको ‘उचित’ प्रतिशोध भनेको छ ।

यसै महिनाको प्रारम्भमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी तेल प्रशोधन केन्द्रहरूमा आक्रमण गरेकामा आफ्ना सेनाको प्रशंसा गर्दै आक्रमणले द्वन्द्वलाई ‘उचित अन्त्य’ गर्न मद्दत पुग्ने बताएका थिए ।

युक्रेनले रुसको कुर्स्क क्षेत्रमा अभूतपूर्व सीमापार आक्रमण गरेपछि ड्रोन आक्रमणहरू भएका हुन् । युक्रेनले कुर्स्क क्षेत्रमा ८० भन्दा धेरै बस्ती नियन्त्रण गरेको दाबी गरेको छ ।

प्रतिक्रिया