मंगलबार, वैशाख १६, २०८२

माओवादीलाई योगेशको चुनौती : आफ्ना कुकर्मको एक ठाउँमा मात्र जवाफ देऊ

मेरोन्यूज २०८१ भदौ १३ गते १७:०६

काठमाडौं । एमाले सचिव योगेश भट्टराईले माओवादी केन्द्रका नेता कार्यकर्ताले आफूमाथि लगाएको मिथ्या आरोपको हजार ठाउँमा जवाफ दिन तयार रहेको भन्दै कडा प्रतिवाद गरेका छन् ।

बिहिबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले माओवादीलाई आफ्ना कुकर्मको एकै ठाउँमा जवाफ दिन चुनौती दिएका छन् ।

बुधवारको प्रतिनिधि सभामा बाेल्ने क्रममा भट्टराईले माओवादी हिंसाको कारण जलविद्युतका सब स्टेशन र ट्रान्समिसन लाइनहरु समयमै बन्न नपाएको बताएपछि माओवादी सांसदहरुले हिंसा शब्द फिर्ता लिन माग गरेका थिए ।

त्यसयता माओवादी सांसदहरुले संसदमा र कार्यकर्ताले सामाजिक संजालमा योगेशलाई हतियार तस्करलगायतको आरोप लगाइरहेका छन् ।

भट्टराईले यसको जवाफ सामाजिक सञ्जालबाटै फर्काउँदै माओवादीलाई रक्तचन्दन,गिटी बालुवा तस्करीदेखि बैंक लुटपाट,सुन तस्करीजस्ता कुकर्मको एक ठाउँमा मात्रै जवाफ दिन चुनौती दिएका हुन् ।

यस्ताे छ उनकाे स्ट्याटस् :

निर्दोष मानिसको हत्या गर्ने, अपहरण गर्ने, सुतिरहेका पुलिस र सेनामाथि बम हान्ने, जनताको सम्पत्ति लुट्ने, बैंक लुटेर पैसा र सुन माटोमुनि लुकाउने, रक्तचंदनको तस्करी गर्ने गिटी बालुवाको तस्करी गर्ने तिमीहरूका यी कुकर्मको एक ठाउँमा मात्र जवाफ देऊ । तिमिले लगाएको तथ्यहीन, मिथ्या, असत्य र झूट आरोपको हजार ठाउँमा जवाफ दिन तयार छु ।

तिम्रा धम्की र फरेबले मेरो इमान डगमगाउने छैन ।

कालो तिम्रो अनुहारमा छ, सिसा फुटाएर उन्मुक्ति पाइने छैन ।

चेतना भय !

प्रतिक्रिया