बुधबार, चैत ११, २०८२

निजामती सेवा दिवसका अवसरमा सरसफाइ

मेरोन्यूज २०८१ भदौ २० गते ११:२६

गण्डकी । निजामती सेवा दिवस २०८१ का अवसरमा कर्मचारी मिलन केन्द्र कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त संयोजनमा आज पोखराको सहिदचोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले निजामती कर्मचारीले सार्वजनिक सेवा प्रवाहका साथै सामाजिक उत्तरदायित्व बहनगरी काम गर्नुपर्नेमा जोड दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरसफाइप्रति समाजमा सचेतना अभिवृद्धिका लागि पनि यस किसिमका कार्यक्रमलाई अघि बढाउनुुपर्ने आवश्यकता औँल्याए।

कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रमा सम्पदास्थलमा सरसफाइ गरिँदै आइएको बताउँदै निजामती सेवा दिवसका अवसरमा सहिद चोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको जानकारी गराए।

कार्यक्रममा नागरिक समाजका संयोजक रामबहादुर पौडेल, नागरिक अभियानका सदस्यहरू, सुरक्षा निकायका प्रतिनिधिसहित राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो ।

मानवसेवा आश्रममा भोजनका लागि सहयोग

कर्मचारी मिलन केन्द्र कास्कीले निजामती सेवा दिवस २०८१ कै अवसरमा आज मानवसेवा आश्रम छोरेपाटनमा त्यहाँस्थित आश्रित व्यक्तिहरूलाई भोजनका लागि सहयोग गरेको छ ।

केन्द्रका तर्फबाट संरक्षक एवं कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले रु २६ हजार नगद आश्रमका सञ्चालकलाई हस्तान्तरण गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले सडक मानवलाई आश्रममा ल्याएर सम्मानपूर्वक सेवा प्रदान गरिरहेको मानवसेवा आश्रमको काम प्रशंसनीय भएको बताए । पर्यटन राजधानी पोखरालाई सडक मानवमुक्तका साथै मठमन्दिरमा पनि मगन्ते मुक्त बनाउने प्रयास थालिएको उनले बताए।

केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले मानवीय भावनाका साथ आश्रममा आश्रित व्यक्तिको भोजनका लागि सहयोग गरिएको बताउँदै समाजिक एवं मानवीय भावनाका साथ सञ्चालित यस्ता संस्थामा सबैको साथ र सहयोग आवश्यक हुने धारणा राखे ।

प्रतिक्रिया