बुधबार, वैशाख २३, २०८३

नापतौलमा अनियमितता गर्ने व्यवसायीलाई कारबाही र जरिवाना

मेरोन्यूज २०८१ भदौ २१ गते १४:३३

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत जथाभावी ढक र तराजुको प्रयोग गर्ने तथा नापतौलमा अनियमितता गरी ठगीगर्ने एक हजार सात सय १७ व्यवसायीलाई कारबाही र जरिवानासमेत गरेको छ।

Advertisement
NiccNicc

सो कार्यालयले गत आर्थिक वर्ष २०८०/८१मा एकल एवम् संयुक्त अनुगमन गर्दा कैफियत पाइएपछि कारबाही गरेको जनाएको छ।

धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापमा गरी कुल पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले गत आर्थिक वर्षमा उक्त कारबाही गरेको कार्यालय प्रमुख मुकुन्द चौहानले जानकारी दिए।

उक्त अवधिमा कार्यालयले व्यावसायिक कारोवार गर्न चार सय ४५ जना व्यवसायीलाई नयाँ नापतौलसम्बन्धी अनुमतिपत्र प्रदान गरेको छ।

कार्यालयबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा दुई हजार तीन सय ६८ व्यवसायीको नापतौल यन्त्रको जाँच गरेको, १३ जना व्यवसायीलाई नापतौल यन्त्रसम्बन्धी (ढक र काँटा बिक्री) इजाजतपत्र प्रदान गरेको, एक सय ४० पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच तथा चार सय ९४ पेट्रोलियम पम्पको नोजल जाँच गरेको कार्यालयका सूचना अधिकारी मनोजकुमार साहले जानकारी दिए।

कार्यालयले सो अवधिमा एक सय १६ बेलिब्रिजको जाँच गरेको, १७ पटक डोर सञ्चालन गरेको, एकल अनुगमन ७२ पटक, एकल अनुगमन (फार्म सङ्ख्या) चार सय ६५, संयुक्त अनुगमन १३ पटक तथा संयुक्त अनुगमन (फार्म सङ्ख्या) एक सय नौ वटा भएको सूचना अधिकारी साहले बताए।

उक्त कारबाही र नापतौल यन्त्रको इजाजतपत्र प्रदान तथा नविकरण बापत् कार्यालयले ४० लाख ६७ हजार २ सय ४२ रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षमा सो कार्यालयको वित्तिय प्रगति ८२ प्रतिशत तथा भौतिक प्रगति ९४ प्रतिशत रहेको छ।

प्रतिक्रिया