‘बिपीले मेरा गलत कामको आलोचनात्मक समाचार लेख्नु भन्नुहुन्थ्यो’

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रेस युनियन केन्द्रीय समितिले ‘पत्रकारिताका सन्दर्भमा बिपी’ विषयक कार्यक्रम आयोजना गर्यो ।
यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले बिपीले फरक विचार राख्ने पत्रकारलाई ‘मैले काम गर्दा गल्ती होलान् ती विषयको आलोचनात्मक समाचार लेखिदिनु’ भनेर पत्रकारिताप्रतिको उच्च सम्मान व्यक्त गरेको प्रसङ्गको चर्चा गरे ।
वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक कमल कोइरालाले विसं २०१५को निर्वाचनपछि प्रतिपक्षी दल कमजोर भएका बेला दुई तिहाइ मत ल्याएर प्रधानमन्त्री बनेका बिपीले व्यक्त गरेको यस्तो विचारले पत्रकारिताप्रति उनको धारणा प्रष्ट हुने बताए । उनले सरकारका गलत कामको आलोचना गरेवापत् राज्यबाट पत्रपत्रिकालाई विज्ञापन दिने व्यवस्था बिपीकै नेतृत्वको सरकारले गरेको भन्दै सोही व्यवस्थालाई हाल लोक कल्याणकारी विज्ञापन भन्ने गरिएको उल्लेख गरे । “पिताजी कृष्णप्रसाद कोइरालादेखि नै हाम्रो परिवारको पत्रकारितामा योगदान छ, कृष्णप्रसादले सूर्यविक्रम ज्ञवाली सम्पादक रहेका जन्मभूमि पत्रिकामा लेख्ने गर्नुहुन्थ्यो । बिपी पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा पत्रकारितामा सङ्लग्न हुनुहुन्थ्यो, साहित्यिक पत्रिका शारदामा पनि उनको योगदान छ”, बिपीका दाजु मातृकाप्रसाद कोइरालाका पुत्रसमेत रहेका वरिष्ठ पत्रकार कमलले भने।
पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका बेला कम्युनिष्ट पार्टी निकट रहेका मदनमणि दीक्षितलाई बिपीले भन्नुभएको सरकारका गलत कामको आलोचना गरेर लेख्नु भन्ने भनाइलाई वर्तमान नेतृत्वले पनि अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो । गलत काम औँल्याइदिने प्रेसको सहयोगमा आफ्नो कमजोरी थाहा पाएर सच्चिने अवसर मिल्छ भन्ने बिपीको विचार रहेको पनि कोइरालाले जानकारी गराए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले बिपीलाई राजनीति, साहित्य, दर्शनलगायत विषयमा विभिन्न कार्यक्रम गर्ने गरिए पनि पत्रकारितासँग जोडेर पहिलोपटक बहस चलाएकामा खुसी व्यक्त गरे । बिपीलाई बुझ्न उनले पत्रकारिता क्षेत्रलाई कसरी हेर्थे भन्ने अध्ययन हुनु आवश्यक रहेकामा उनले जोड दिए।
बिपीको सान्निध्य र प्रेरणाले नै आफू पत्रकारितामा लागेको उल्लेख गर्दै विरहीले पत्रकारिता र पत्रकारले कसरी भूमिका निर्वाह गरेको छ भन्ने बिपीले सूक्ष्मरुपमा हेर्ने गरेका प्रसङ्ग उल्लेख गरे। “पञ्चायतकालमा बिपी भारत निर्वासनमा बस्नुहुँदा नेपालका गुप्तचर पत्रकारको भेषमा बिपीको कुरा बुझ्न र त्यहाँको अवस्था हेर्न जान्थे, तिनलाई चिनेर पनि बिपी सहज रूपमा अन्तरवार्ता दिनुहुन्थ्यो, उनीहरूलाई नि उहाँले हामीलाई जत्तिकै समान व्यवहार गर्नुभयो”, उनले स्मरण गरे ।
महासङ्घका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली प्रेस जगत्ले पहिलोपटक बिपी जयन्ती मनाएकामा खुसी व्यक्त गर्दै पत्रकारिता क्षेत्रलाई माया गर्ने राजनीतिज्ञ चिन्न यस क्षेत्रले लामो समय लगाएको धारणा राखे। उनले व्यक्ति केन्द्रित अहिलेको समाजमा भएका विषयलाई पत्रकारिताले पस्कन नसकेको अवस्था रहेकाले यसमा परिवर्तन आवश्यक रहेकामा उनले जोड दिए। “पत्रकारले समाज र देशलाई बलियो बनाउने गरी काम गर्नुपर्छ, भाषाको सही प्रयोग गरेर जनचासोका विषयमा समाचार बनाउनुपर्छ, बिपीले पत्रकारिता क्षेत्रबाट गर्नुभएको अपेक्षा पनि यही हो”, उनले भने।
युनियनका अध्यक्ष शिव लम्सालले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपीको पत्रकारिताबारेको बुझाइ, सहयोग र विविध आयामबारे उजागर गर्न प्रारम्भ गरिएकाले यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
भदौ २४ अर्थात् बिपी जयन्तीको पूर्वसन्ध्यामा युनियनले कार्यक्रम आयोजना गरेको हो ।













आजका लागि कृषिउपजको थोक मूल्य: मूल्यगोलभेँडा प्रतिकिलो रु ११०,प्याज प्रतिकिलो रु ५५
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
आजकाे माैसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
नयाँ वर्ष सन् २०२६ सुरु
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया